माले । मालदिभ्सको पर्यटन क्षेत्रले राजस्व सङ्कलनमा उत्साहजनक प्रगति गरेको छ। सरकारी सञ्चारमाध्यम ‘पीएसएम न्यूज’का अनुसार सन् २०२५ को डिसेम्बरदेखि सन् २०२६ को फेब्रुअरीसम्मको अवधिमा मालदिभ्सको पर्यटन क्षेत्रबाट प्राप्त हुने ‘आउटपुट कर’ ४४७ मिलियन अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या ३७१ मिलियन डलर थियो, जसले राजस्वमा २० दशमलव ५ प्रतिशतको वृद्धि देखाउँछ।
पर्यटनका विभिन्न उपक्षेत्रहरूमध्ये जलक्रिडा (वाटर स्पोर्ट्स) व्यावसाय सबैभन्दा तीव्र गतिमा फस्टाएको क्षेत्र बनेको छ। यस क्षेत्रको राजस्व अघिल्लो वर्षको २१ दशमलव ६८ मिलियन डलरबाट बढेर ३२ दशमलव ०३ मिलियन डलर पुगेको छ, जुन ४७ दशमलव ७ प्रतिशतको वृद्धि हो।
त्यसैगरी, वाटर स्पोर्ट्स सेन्टरहरूको आयमा ४९ दशमलव २० प्रतिशतले वृद्धि भई १२ दशमलव ३७ मिलियन डलर पुगेको छ। सानो हिस्सा ओगटे पनि होमस्टे र गेस्टहाउस क्षेत्रले पनि ६० दशमलव ८ प्रतिशतको उच्च वृद्धि दर दर्ता गरेका छन्। पर्यटन क्षेत्रको कुल राजस्वमा सबैभन्दा ठूलो योगदान दिने रिसोर्टहरूको आयमा पनि २१ प्रतिशतले वृद्धि भएको छ।
राजस्वमा देखिएको यस सकारात्मक नतिजाको मुख्य कारण पर्यटक आगमनमा भएको वृद्धि हो। समीक्षा अवधिमा मालदिभ्स भ्रमण गर्ने पर्यटकको सङ्ख्या ११ दशमलव ६ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ।








