रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आर्कटिक करिडोरको विस्तारलाई रुसको आर्थिक विकास र राष्ट्रिय सार्वभौमिकता रक्षाको प्रमुख आधारका रूपमा व्याख्या गरेका छन्।आर्कटिक क्षेत्र र ट्रान्सआर्कटिक यातायात कोरिडोरको विकासबारे सरकारी अधिकारीहरूसँग आयोजित भिडियो कन्फरेन्समा पुटिनले यस क्षेत्रको रणनीतिक महत्त्वमाथि जोड दिएका हुन्। रुसी अर्थतन्त्रको सुदृढीकरण, औद्योगिक क्षमता अभिवृद्धि र राष्ट्रिय सुरक्षाका लागि आर्कटिक क्षेत्र निर्णायक हुने उनको भनाइ छ।
पुटिनले सेन्ट पिटर्सबर्गदेखि मुर्मान्स्क र भ्लादिभोस्तोकसम्म फैलिएको ‘ट्रान्सआर्कटिक यातायात कोरिडोर’ विश्वकै सुरक्षित र भरपर्दो जलमार्गका रूपमा स्थापित भइरहेको दाबी गरे। विश्वका विभिन्न स्थानमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा अवरोध आएको सन्दर्भमा यो उत्तरी मार्गको सान्दर्भिकता झन् बढेको उनले उल्लेख गरे।
आर्कटिक क्षेत्रको पूर्वाधार विकासका लागि रुसले विशेष पहल गरिरहेको जानकारी दिँदै उनले भने, “रुसले यस क्षेत्रका बन्दरगाह, रेलमार्ग, राजमार्ग र विमानस्थलहरूलाई व्यवस्थित गर्दै आर्कटिक लजिस्टिक नेटवर्कलाई बलियो बनाइरहेको छ।”
यसबाहेक, पुटिनले यो परियोजना केवल आर्थिक लाभका लागि मात्र नभई क्षेत्रीय स्थिरता र वातावरण संरक्षणसँग पनि जोडिएको बताए। उनले यस क्षेत्रमा शान्ति कायम राख्दै स्थानीय आदिवासीहरूको संस्कृति जोगाउन र आर्कटिकको संवेदनशील पारिस्थितिक प्रणालीको रक्षा गर्न रुस प्रतिबद्ध रहेको उल्लेख गरे।








