काठमाडौं। संघीय संसद्को प्रतिनिधिसभा बैठक आज बुधबार अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी–त्रिशूली बाढीबाट भएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
संसद् सचिवालयले उपलब्ध गराएको प्रस्तावमा भदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशूली बजार, देवीघाटलगायत धादिङ, चितवन र गोरखाका नदी किनारका क्षेत्रमा ठूलो संख्यामा स्वदेशी–विदेशी नागरिक बेपत्ता र मृत्यु भएको तथा व्यापक जनधनको क्षति पुगेको उल्लेख छ। प्रस्तावमा घरबारविहीनको व्यवस्थापन, घाइतेको शीघ्र स्वास्थ्य लाभ र मृतकप्रति श्रद्धाञ्जलिसमेत व्यक्त गरिएको छ।
प्रस्तावमाथि सदनमा प्रतिनिधित्व गर्ने दलका सांसदहरूले धारणा राख्नेछन्। बाढीपछि केही सांसदले राष्ट्रिय शोक घोषणा गर्न माग गरिसकेका छन्।
बिहान ९ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा रसुवा बाढी–पहिरोले पर्यटन क्षेत्रमा पारेको प्रभावबारे छलफल हुनेछ। अपराह्न १२ः१५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भने ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल हुनेछ।
भदौ १० को बाढीपछि प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। बाढी र पहिरोबाट सयौंको मृत्यु भएको र हजारौं बेपत्ता रहेको अवस्थामा संसदीय समितिहरूले पनि क्षति र उद्धारसम्बन्धी विषयलाई प्राथमिकतामा राखेका छन्।








