ढाका — मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्ति प्रणाली प्रभावित भएपछि बङ्गलादेशमा पेट्रोलियम पदार्थको चरम अभाव देखिएको छ। इन्धन आयातमा निर्भर यस दक्षिण एसियाली मुलुकका पेट्रोल पम्प र ग्यास डिपोहरूमा उपभोक्ताको किलोमिटर लामो लाइन लाग्न थालेको छ। फेब्रुअरीको अन्त्यदेखि सुरु भएको युद्धका कारण होर्मुज जलडमरूमध्य (Strait of Hormuz) बाट हुने ऊर्जा ढुवानी अवरुद्ध भएपछि बङ्गलादेशले यो सङ्कट झेल्नुपरेको हो। आफ्नो कुल इन्धन र ग्यासको ९५ प्रतिशत आयात गर्ने बङ्गलादेशका लागि आपूर्ति मार्गमा आएको अवरोध मुख्य चुनौती बनेको छ।
राजधानी ढाकासहित देशका प्रमुख सहरहरूमा सवारी चालकहरू इन्धनका लागि रातभर लाइनमा बस्न बाध्य छन्। ढाकाको एक ग्यास स्टेसनमा मध्यरातदेखि पालो कुरिरहेका ४३ वर्षीय चालक शमसुद्दिनले छ घण्टाको पर्खाइपछि मात्र इन्धन पाएको बताए। “मैले छ घण्टा पछि अन्तमा इन्धन पाएको छु, अब दिनभर व्यस्त रहनेछु,” अनिदो आँखा र थकित मुद्रामा उनले भने। कतिपय पम्पहरूमा १.५ किलोमिटरसम्म लामो लाइन देखिएको छ भने पालो कुरिरहेका कतिपय चालकहरू सवारी साधनमै सुतेका भेटिन्छन्।
सरकारले भने देशमा इन्धनको अभाव नरहेको दाबी गरेको छ। ऊर्जामन्त्री इकबाल हसन महमुदले आइतबार संसद्मा बोल्दै पर्याप्त भण्डार रहेको र आपूर्ति मार्च महिनामा पनि गत वर्षकै जस्तै सामान्य रहेको बताए। उनले अभावको हल्लाले गर्दा मानिसहरूले आत्तिएर भण्डारण गर्न खोज्दा समस्या देखिएको दाबी गरे। तर, मोबाइल नेटवर्क अपरेटरहरूको राष्ट्रिय सङ्घले भने इन्धन अभावका कारण निरन्तर सेवा प्रवाह गर्न नसक्ने चेतावनी दिइसकेको छ।
इन्धन सङ्कटले गर्दा अप्रिय घटनाहरू समेत हुन थालेका छन्। रङ्गपुर सहरमा प्रचण्ड गर्मीका बीच घण्टौँ लाइनमा बसेका एक सेवाग्राहीको मृत्यु भएको छ भने नरेलमा इन्धन भर्ने विषयमा भएको विवादमा दुई जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। आम्दानीको स्रोत गुमेका कारण ट्याक्सी र मोटरसाइकल चालकहरू आक्रोशित देखिन्छन्। ४० वर्षीय चालक मिजानुर रहमानले पहिले दैनिक १,५०० टाका कमाउने गरेकोमा अहिले इन्धन भर्नै १०-१२ घण्टा खर्चनुपर्दा जीविकोपार्जनमा समस्या परेको गुनासो गरे। उनले भने, “म लामो दूरीका यात्रु लैजान डराउँछु, किनकि फर्किन पुग्ने इन्धन हुने निश्चित छैन।”
यसैबीच, इन्धनको अभावले विद्युतीय सवारी साधनको माग भने ह्वात्तै बढाएको छ। सरकारी तथ्याङ्क अनुसार फेब्रुअरीमा ६०३ युनिट मात्र रहेको विद्युतीय सवारीको आयात मार्चमा बढेर २,१३९ पुगेको छ। ढाकास्थित एटलस शोरूमका विक्रेता अशरफुल आलमले विद्युतीय मोटरसाइकलको माग दिनप्रतिदिन बढिरहेको बताए। इन्धन स्टेसनहरूमा देखिएको भीडलाई लक्षित गरी कतिपयले खाद्य सामग्रीको व्यापार गरेर व्यावसायिक अवसर समेत खोजेका छन्। तर, सर्वसाधारणका लागि भने यो सङ्कट दैनिक सास्ती र आर्थिक दबाबको कारण बनेको छ।








