२६ वर्षीय खनालको संसदीय यात्रा

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष खनाल युवा पुस्ताको प्रतिनिधि राजनीतिक नेतृत्वका रूपमा चर्चाको आएका छन् ।

२६ वर्षकै उमेरमा संघीय संसद् पुग्न सफल भएका खनाललाई नयाँ पुस्ताको आकांक्षा र वैकल्पिक राजनीतिक सोच बोकेको अनुहारका रूपमा हेरिएको छ । मध्यविन्दु नगरपालिका–६, टाँडी निवासी खनालको जन्म २०५६ असार ११ गते भएको हो । विद्यालय तहसम्मको अध्ययन स्थानीयस्तरमै सम्पन्न गरी उच्च शिक्षाका लागि काठमाडौँ पुगेका खनालले नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक गरेका छन् ।

कानुन अध्यायनकै क्रममा उनले देशको राजनीतिक अवस्थाबारे नजिकबाट बुझ्ने अवसर पाएको बताए। पुराना राजनीतिक दलको अभ्यासप्रति असन्तुष्टि व्यक्त गर्दै वैकल्पिक राजनीतिक शक्ति आवश्यक ठानेपछि उनी तत्कालीन विवेकशील साझा पार्टीमा आबद्ध बने । विसं २०७६ मा जनकपुरमा सम्पन्न विवेकशील नेपाली दलको महाधिवेशनबाट खनाल २० वर्षकै उमेरमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए । जसले उनलाई राष्ट्रिय राजनीतिमा उदाउँदो युवा नेतृत्वका रूपमा चिनाएको थियो ।

काठमाडौँ बसाइँका क्रममा उनले माइतीघर मण्डल केन्द्रित विभिन्न आन्दोलन, नागरिक अभियान तथा सरकारको खबरदारी कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए । पछिल्लो समय ‘जेनजी’ आन्दोलन र युवा केन्द्रित नागरिक अभियन्ताको रूपमा पनि उनको संलग्नता देखिएको थियो ।

राजनीतिक सक्रियताका साथै खनालले संसदीय अभ्यासको अनुभव पनि बटुलेका थिए । उनले रास्वपाका सांसद असिम शाहको स्वकीय सचिवका रूपमा कार्यरत रहँदै संसद् र नीति निर्माण प्रक्रियाबारे व्यावहारिक अनुभव हासिल गरेका थिए । यसपटकको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेपछि उनको चर्चा झन् बढेको थियो ।

कानुनको विद्यार्थी भएकाले जनताका जायज मागलाई संसद्माार्फत उठाउने र कानुन निर्माण प्रक्रियामा सक्रिय भूमिका खेल्ने लक्ष्यसहित राजनीतिमा आएको नव निर्वाचित खनालले बताए । युवा पुस्ताको आवाज, पारदर्शीता, जबाफदेहिता र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता रहेको छ । स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्दै नीतिगत रूपमा समाधान गर्नुपर्ने विषयमा अध्ययन अनुसन्धानसहित अघि बढ्ने योजना रहेको उनले बताए ।

गाउँबाट अध्ययन सुरु गरी राष्ट्रिय राजनीतिसम्मको यात्रा तय गरेका खनाललाई नवलपरासी(बर्दघाट सुस्तापूर्व)-२ का मतदाताले युवा पुस्ताको भरोसा र परिवर्तनको अपेक्षासहित संघीय संसद्मा पठाएका छन् । निर्वाचन परिणामअनुसार खनालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार तिलबहादुर महतलाई २५ हजार ५९२ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । महत उक्त क्षेत्रमा लगातार तेस्रो पटक उम्मेदवार रहेका थिए ।

त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवार ओमबहादुर घर्तीले १४ हजार ७१३ मत तथा नेपाल कम्युनिष्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गरेका थिए ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x