सञ्चारमन्त्री तिमिल्सिनाको कर्मचारीलाई निर्देशन : ‘जनताले अनुभूति गर्नेगरी काम गर्नु’

काठमाडौँ, १४ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालयका कर्मचारीलाई जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिएका छन्।

मन्त्रालयको कामकारबाहीबारे जानकारी लिन आयोजित बैठकमा उनले सञ्चार मन्त्रालय सरकारको अनुहार तथा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएकाले जनतालाई तत्काल लाभ हुने र प्रतिफल आउने गरी जनमुखी काम गर्न आग्रह गरे।

मन्त्री तिमिल्सिनाले भने, “देशमा एउटा नयाँ राजनीतिक परिदृश्य देखिएको छ। निर्वाचनले हामीलाई अभूतपूर्व ‘म्यान्डेड’ दिएका छन्। जनअपेक्षा पनि धेरै छन्। त्यसैले जनताले तत्काल अनुभूति गर्नेगरी सरकारले काम गर्नुपर्ने दायित्व छ।”

उनले नवगठित सरकारको भावनाअनुसार जनतालाई केन्द्रमा राखेर सरल, छिटो र छरितो सेवा प्रवाह बनाइनुपर्नेमा जोड दिए। उनले भने, “सेवा प्रवाह छिटो र छरितो हुनुप¥यो। कुनै पनि विवादित कामहरू हुनुभएन। सेवाग्राहीले समस्या महसुस गर्नुभन्दा अगाडि नै हामीले समाधान गरिसक्नुपर्छ। जनभावनालाई सम्मान गरेर देशले खोजेको बाटोमा मुलुकलाई अगाडि बढाउन सबैले योगदान गर्नुपर्छ।”

मन्त्री तिमिल्सिनाले मन्त्रालयले तत्काल गर्नुपर्ने सुधार र दीर्घकालीन कार्ययोजनासहित आउन उच्चपदस्थ अधिकारीलाई निर्देशन दिए। उनले सञ्चार मन्त्रालयलाई नमूना मन्त्रालयका रूपमा स्थापित गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए। यसैगरी ‘डिजिटल डिभाइड’ हटाउन कार्ययोजनासहित द्रुतगतिमा काम गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए। तत्काल सुधार गर्नुपर्ने र नयाँ मस्यौदा गर्नुपर्ने ऐनहरू चाँडो प्रस्तुत गर्न तथा जनतालाई राहत हुनसक्ने र सकारात्मक सन्देश दिनसकिने कामको कार्ययोजना तयार पार्न पनि उनले निर्देशन दिए।

सामूहिक नेतृत्व प्रणाली, समन्वय र सहकार्यबाटै चाँडो परिणाम आउने भन्दै मन्त्री तिमिल्सिनाले सबै जिम्मेवार भएर काममा लाग्नुपर्नेमा जोड दिए। उनले भने, “आ–आफ्नो तहबाट प्रोएक्टिभ भएर काम गरौँ, जनताले खोजेको गतिअनुसार समय दिएर काम गर्न जरुरी छ।”

बैठकमा मन्त्रालयका सबै महाशाखा प्रमुखले आ–आफ्नो महाशाखाको वस्तुस्थिति, प्रगति विवरण, समस्या र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए। मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले जनचाहनाअनुरुप सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन मन्त्रालय कार्ययोजनासहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले मुलुकको दूरसञ्चार सेवालाई प्रभावकारी बनाई गुनासो नआउने किसिमले काम गर्न कर्मचारीलाई निर्देशन समेत दिएकी छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x