काठमाडौँ। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) मा नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ। संस्थाका निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलाई पदभार हस्तान्तरण गरेका छन्।
बिहीबार बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा पदभार हस्तान्तरणसहित शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको जनाइएको छ। पूर्वअध्यक्ष चौधरीले संस्थाको विकास र अटोमोबाइल क्षेत्रको प्रगतिमा नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
नवनिर्वाचित अध्यक्ष उप्रेतीले शपथ ग्रहण गर्दै नाडाको उद्देश्य, विधान र मूल्य–मान्यताअनुसार संस्थालाई थप सशक्त, सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले सदस्य व्यवसायीहरूको हित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जाहेर गरेका छन्।
सोही बैठकमा महेश पाल, दीपककुमार अग्रवाल र राजेश गिरीलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरिएको जानकारी दिइएको छ। साथै कार्यसमितिले छिट्टै अन्य पदाधिकारीहरूको चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।







