माले । माल्दिभ्स सरकारले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई साइबर अपराध र अनलाइन खतराहरूबाट जोगाउन विभिन्न सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। राष्ट्रपति मोहम्मद मुइजुले एक साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै अनलाइन र साइबर अपराधबाट बालबालिकाको सुरक्षा गर्नु वर्तमान समयमा अभिभावकहरूको प्रमुख चिन्ताको विषय बनेकाले यस्तो कदम चाल्न लागिएको जानकारी दिए।
नयाँ साइबर नीति तर्जुमा गर्दा अस्ट्रेलिया लगायतका अन्य देशहरूले अवलम्बन गरेका नियमहरूको अध्ययन गरिने राष्ट्रपति मुइजुको भनाइ छ। प्रस्तावित प्रतिबन्धले विशेष गरी बालबालिकाका लागि जोखिमपूर्ण मानिएका सामाजिक सञ्जालका माध्यमहरूलाई लक्षित गर्नेछ। यस प्रक्रियामा सरकारले सम्बन्धित प्रविधि कम्पनीहरूसँग परामर्श गर्ने र सामाजिक सञ्जालका सञ्चालकहरूसँग उनीहरूको सेवालाई माल्दिभ्सको कानुन अनुरूप बनाउन समन्वय गर्ने रणनीति लिएको छ।
यो नयाँ व्यवस्था र सतर्कता अपनाउनका लागि विद्यमान साइबर सुरक्षा कानुनमा संशोधन आवश्यक पर्ने राष्ट्रपति मुइजुले स्पष्ट पारे। यो प्रतिबन्धले बालबालिकाको शिक्षा वा अनलाइन सिकाइ क्षमतामा कुनै अवरोध नगर्ने र सुरक्षित डिजिटल वातावरण निर्माणमा सहयोग पुर्याउने दाबी सरकारको छ।
स्थानीय सञ्चारमाध्यम पीएसएम न्युजका अनुसार सरकारले यी निर्धारित नियमहरूलाई छिट्टै अन्तिम रूप दिने तयारी गरेको छ। सार्वजनिक परामर्शपछि आगामी एक वर्षभित्र यो प्रतिबन्धलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ।








