नेपालगञ्ज । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० स्थित थपुवा गाउँ शोकमा डुबेको छ। बाढीमा परी गाउँका पाँच जना सदस्य बेपत्ता भएपछि यस वर्ष तीजको आगमन भए पनि गाउँका आँगनहरू सुनसान बनेका छन्।
रसुवाको टिमुरे क्षेत्रमा कार्यरत ५३ वर्षीय शेरसिंह रोकाय, ५६ वर्षीया विष्णुमती रोकाय र उनीहरूलाई भेट्न तथा गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीमा परी बेपत्ता भएका छन्। यस्तै रोजीरोटीका लागि रसुवा पुगेका आराम दमाइँ र उजना दमाइँ पनि सोही बाढीमा हराइरहेका छन्। अभिभावक बेपत्ता भएपछि आराम र उजनाका तीन जना साना बालबालिका सहाराविहीन बनेका छन्।
स्थानीय टेकराज जैसीका अनुसार अकल्पनीय शोकका कारण गाउँलेले यसपालि तीजको तडकभडक त्यागेर पीडित परिवारलाई साथ दिइरहेका छन्। नेपालगञ्ज-२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बेपत्ताको खोजी जारी राख्न र साहाराविहीन बालबालिकाको पालनपोषण तथा शिक्षाका लागि सहयोग गर्ने जनाएका छन्।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार भोटेकोशी बाढीमा परी बाँकेका कुल २३ जना अझै बेपत्ता छन्। घटनामा ३ जनाको शव सनाखत भई मृत्यु पुष्टि भएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ।








