‘वीर गणेशमान’: गणेशमान सिंहको जीवनमा आधारित नाटक मञ्चन हुँदै

काठमाडौँ ।  नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व लौहपुरुष गणेशमान सिंहको जीवन, सङ्घर्ष, त्याग र निष्ठामा आधारित ऐतिहासिक नाटक “वीर गणेशमान” भदौ १४ गतेदेखि काठमाडौँको कालिकास्थान रहेको सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ।

गणेशमान फाउन्डेसनको आयोजना र नेपालको अग्रणी रङ्गमञ्च समूह सर्वनामको प्रस्तुतिमा तयार यो नाटक आगामी असोज १४ गतेसम्म मञ्चन हुनेछ। नाटकको परिकल्पना, नाट्य रूपान्तरण र निर्देशन वरिष्ठ रङ्गकर्मी अशेष मल्लले गरेका हुन्।

निर्देशक मल्लका अनुसार “वीर गणेशमान” कुनै ऐतिहासिक व्यक्तित्वको जीवनीमा आधारित नाटक मात्र नभई इमानदारी र देशप्रतिको समर्पणको कथा पनि हो। आफ्नो पाँच दशक लामो नाट्य यात्रामा यस्तो यथार्थपरक नाटक पहिलोपटक गर्न लागेको बताउँदै उनले भने, “बिम्ब र प्रतिकसँग खेल्ने मेरो नियमित अभ्यासभन्दा यो प्रस्तुति फरक छ। एउटा निष्ठावान् र सच्चरित्र योद्धाको तेस्रो आयाम दर्शकसम्म सञ्चारित गर्ने प्रयास स्वरूप नाटक निर्देशन गरेको हुँ।”

नाटकमा निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध गणेशमान सिंहले गरेको सङ्घर्ष, उनले भोगेको जेल जीवन र छ फिट अग्लो जेलको पर्खाल नाघेर गरेको साहसिक पलायनलाई विशेष रूपमा प्रस्तुत गरिने मल्लले बताए। प्रजातन्त्र स्थापनाका लागि मृत्युदण्डको समेत बेवास्ता गर्दै निरन्तर सङ्घर्ष गरेका सिंहको त्याग र अडिग निष्ठालाई नाटकले रङ्गमञ्चमार्फत जीवन्त बनाउने प्रयास गर्ने उनले बताए।

यसका साथै, २०४६ सालको ऐतिहासिक जनआन्दोलनको सफलतापछि उनले प्रधानमन्त्री पदसमेत अस्वीकार गरेको महत्त्वपूर्ण घटनालाई नाटकमा समेटिएको छ। व्यक्तिगत स्वार्थ, परिवार, पार्टी र सत्ताभन्दा माथि देश र जनतालाई राख्ने उनको राजनीतिक दर्शनलाई यसले उजागर गर्नेछ।

विगत ४५ वर्षदेखि नेपाली रङ्गमञ्चमा निरन्तर सक्रिय सर्वनामले तत्कालीन पञ्चायती व्यवस्था र निरङ्कुशताविरुद्ध सडक नाटकमार्फत चेतना जगाउने काम गर्दै आएको थियो।

 

 

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x