किभ । युक्रेन र पोल्याण्डको सीमा नजिकै रहेको याहुदिन स्टेशनमा आइतबार रुसी ड्रोनले एक यात्रुवाहक रेलमा भीषण आक्रमण गरेको छ। बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सन, स्विडेनका पूर्वप्रधानमन्त्री कार्ल बिल्ट तथा अन्य उच्च युरोपेली कूटनीतिज्ञहरू सवार कूटनीतिक रेल सोही स्थानबाट पार भएको केही मिनेटभित्रै उक्त आक्रमण भएको हो।
युक्रेनी राष्ट्रिय रेल सेवा का अनुसार सुरक्षा खतरालाई ध्यानमा राख्दै कूटनीतिक टोली सवार रेललाई निर्धारित समयभन्दा अगाडि नै पठाइएकाले ठूलो सम्भावित दुर्घटना टरेको छ। रुसी ड्रोनको वास्तविक निशाना नै युरोपेली प्रतिनिधिमण्डल सवार रेल हुन सक्ने अनुमान गरिएको छ। आक्रमणअघि नै चेतावनी जारी गरी यात्रुहरूलाई सुरक्षित स्थानमा सारिएकाले घटनामा कुनै मानवीय क्षति भने भएको छैन।
किभमा आयोजित ‘याल्टा युरोपेली रणनीति’ सम्मेलनमा सहभागी भएर फर्कने क्रममा सो घटना भएको हो। पूर्वप्रधानमन्त्री बोरिस जोन्सनले सामाजिक सञ्जालमार्फत घटनाको भर्त्सना गर्दै यसलाई “अर्थहीन र अन्धाधुन्ध आक्रमण” को संज्ञा दिएका छन्। उनले युक्रेनी नागरिकहरूले दैनिक रूपमा यस्तै जोखिमको सामना गरिरहेको उल्लेख गर्दै पश्चिमी देशहरूलाई युक्रेनका लागि हवाई सुरक्षा प्रणाली थप सुदृढ बनाउन आग्रह गरेका छन्।








