काठमाडौ । देशभर भइरहेको लगातारको वर्षाका कारण विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्डमा पहिरो, बाढी र हिलोका कारण यातायात व्यवधान उत्पन्न भएको छ। कतिपय सडकमा रात्रिकालीन सवारी प्रतिबन्ध लगाइएको छ भने कतिपय पूर्ण रूपमा अवरुद्ध भएका छन्।
मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण राति ५ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारीसाधनको सञ्चालनमा रोक लगाइएको छ। त्यसैगरी, नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन राति १० बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिएको छ। अर्को सूचना जारी नभएसम्म उक्त सडकमा कुनै पनि सवारीसाधन सञ्चालनमा नआउने जनाइएको छ।
यता, इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेको कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ, जहाँ वैकल्पिक बाटो रहेको जनाइएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो खसेपछि र सोही गाउँपालिकाको लिपिङस्थित सडक भासिएपछि उक्त राजमार्ग दुवै स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि अवरुद्ध भएको छ भने गोसाइकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा पहिरो खसेपछि पासाङल्हामु सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसैगरी, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ भने रोल्पाको थवाङ गाउँपालिका–२ लाद्रेमा आज बिहान खसेको पहिरोका कारण सहिद राजमार्ग समेत पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक अवरुद्ध भएका स्थानहरूमा पहिरो तथा बाढीको जोखिम कायम रहेकाले सम्बन्धित निकायले अवस्था हेरी सावधानीपूर्वक यात्रा गर्न र आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।








