विदेश घुम्ने प्याकेज देखाएर झन्डै ३ करोड ठगी, ७ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–१० स्थित थापागाउँमा श्रीटेल होलिडेज नामको ट्राभल एजेन्सीको कार्यालय स्थापना गरेर ठगेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ जना भारतीय र एक जना नेपाली नागरिक रहेको प्रहरीले जनाएको छ ।

सर्वसाधारणलाई युरोप, एसिया र अफ्रिका लगायतका १७५ देशमा पर्यटक भिसामा घुम्न पठाउने ‘प्याकेज अफर’ देखाएर आरोपीहरूले ठगी गरेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत ३ मा थापागाउँस्थित सो ट्राभलको कार्यालयमा छापा मारेर आरोपीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप घर भएका २६ वर्षीय विवेक रेग्मी, भारत घर भएका ३९ वर्षीय हुसेन सैयद, ४४ वर्षीय साजिद ओमर सैयद, ३४ वर्षीय महम्मद इमरान, ३३ वर्षीय मिर खालिद हुसेन, ४० वर्षीय रजाक महम्मद र ४२ वर्षीय समादा गिरी रहेको प्रहरीले जनाएको छ । विवेक रेग्मी बाहेक अन्य आरोपी भारतीय नागरिक हुन् ।

आरोपीहरूले २ करोड ७२ लाख रुपैयाँ असुलेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले जानकारी दिएका छन । ठगीमा संलग्नहरूले काठमाडौँ उपत्यकाका सपिङ मलहरूमा ‘ट्राभल डेस्क’ खडा गरेर सपिङ गर्न जानेहरूलाई फारम भर्न लगाउने गरेका थिए ।

घुम्न जान चाहनेहरूको डिटेल लिएर उनीहरुले प्याकेज अफरबारे जानकारी गराउँथे । १७५ देशको प्याकेज अफर देखाएर उनीहरुले सर्वसाधारणलाई भन्ने गरेका थिए, ‘खान बस्न पैसा लाग्दैन, तपाईँलाई चिट्ठा परेपछि खबर आउँछ ।’

त्यसपछि उनीहरुले फोन गरेर चिट्ठा परेको जानकारी गराउँदै ट्राभलको अफिसमा बोलाउने गरेका थिए । थापागाउँस्थित ट्राभल्सको कार्यालयमा बोलाएर ७ दिन, १० दिन र ५ वर्षसम्मको प्याकेज देखाएर रकम जम्मा गर्न लगाउने र सम्झौता बमोजिम काम नगरेर ठग्ने गरेको एसपी भट्टले जानकारी दिए ।

सो ट्राभल एजेन्सी सरकारको स्वीकृति बिना नै सञ्चालन भएको भेटिएको छ । आरोपीहरूमाथि थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी भट्टले बताए । आरोपीहरुविरुद्ध ३२८ जना पीडितहरूले प्रहरीमा उजुरी दिएका छन् ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x