तेहरान । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले दबाब, धम्की र घेराबन्दी कायम रहेसम्म आफ्नो देशले कुनै पनि प्रकारको वार्ता नगर्ने प्रस्ट पारेका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँगको टेलिफोन संवादका क्रममा उनले यस्तो अडान राखेका हुन्।
अमेरिकी प्रतिबन्ध र सैन्य आक्रमणको चेतावनीतर्फ सङ्केत गर्दै पेजेश्कियानले वर्तमान परिस्थितिमा कूटनीतिक संवादको वातावरण नरहेको टिप्पणी गरे। “दबाब, धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता हुन सक्दैन,” उनले संवादका क्रममा भने।
राष्ट्रपति पेजेश्कियानले अमेरिकाले निरन्तर रूपमा अन्तर्राष्ट्रिय सम्झौताहरूको उल्लङ्घन गरिरहेको आरोप लगाए। वार्ता र युद्धविरामको प्रयास भइरहेका बेला पनि अमेरिकाले ‘दबाबको नीति’ अपनाउनु विरोधाभासपूर्ण रहेको उनको जिकिर छ। अमेरिकाद्वारा लगाइएको समुद्री प्रतिबन्धलाई उनले संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घनका रूपमा व्याख्या गरे।
यस्ता धम्कीपूर्ण व्यवहारले शान्ति प्रक्रियाप्रतिको विश्वव्यापी विश्वासलाई कमजोर बनाउने उनले बताए।इरान आफ्नो राष्ट्रिय सुरक्षाको रक्षाका लागि पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै पेजेश्कियानले अमेरिका वा इजरायलसँग हुन सक्ने सम्भावित नयाँ टकरावले गम्भीर परिणाम निम्त्याउने चेतावनी दिए। यस्तो टकरावले क्षेत्रीय मात्र नभई विश्वव्यापी स्थिरतामै गम्भीर असर पुर्याउने उनको विश्लेषण छ।आफ्नो सम्बोधनका क्रममा उनले इरानले छिमेकी मुलुकहरूसँग आपसी सम्मानका आधारमा सम्बन्ध सुदृढ बनाउन चाहेको समेत उल्लेख गरे। बाह्य हस्तक्षेपबिना नै क्षेत्रीय देशहरू मिलेर शान्ति र सुरक्षा कायम गर्न सक्षम हुने विश्वास उनले व्यक्त गरे।








