ट्रम्पको नयाँ चेतावनी: ‘अमेरिकामा बेच्ने हो भने बम्बार्डियरले यतै विमान बनाउनुपर्छ’

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको विमान निर्माता कम्पनी बम्बार्डियरलाई अमेरिकामा विमान बिक्री जारी राख्न चाहने हो भने अमेरिकी भूमिमै विमान उत्पादन गर्नुपर्ने चेतावनी दिएका छन्। ट्रम्पले सोमबार सामाजिक सञ्जाल Truth Social मा बम्बार्डियरका विमानलाई अमेरिकी बजारमा बिक्री गर्न रोक लगाउने संकेत गरेका हुन्। 

ट्रम्पले बम्बार्डियरलाई अमेरिकी बजारबाट ठूलो आम्दानी गर्ने तर अमेरिकालाई पर्याप्त लाभ नदिएको आरोप लगाउँदै कम्पनीले अमेरिकी बजारमा आफ्नो पहुँच कायम राख्न उत्पादन अमेरिकामै सार्नुपर्ने बताएका छन्। उनले क्यानडाले अमेरिकी बैंक तथा कम्पनीहरूलाई व्यापारमा अवरोध गरेको र अमेरिकी विमान निर्माता गल्फस्ट्रिमलाई पनि क्यानडामा अनुचित व्यवहार गरिएको दाबी गरेका छन्। 

तर बम्बार्डियरको अमेरिकी उपस्थितिसमेत उल्लेख्य छ। कम्पनीका अनुसार अमेरिकामा उसको गतिविधि र आपूर्ति शृंखलाले दशौँ हजार रोजगारी सिर्जना गरेको छ। कम्पनीले ४७ अमेरिकी राज्यमा रहेका करिब २,८०० अमेरिकी आपूर्तिकर्तासँग काम गरिरहेको जनाएको छ। 

बम्बार्डियरका विमानमा अमेरिकी कम्पनीले उत्पादन गरेका इन्जिन, एभियोनिक्स र अन्य महत्वपूर्ण उपकरण प्रयोग हुने कम्पनीको भनाइ छ। कम्पनीले अमेरिकामा आफ्नो उपस्थिति विस्तार गर्न निरन्तर लगानी गरिरहेको पनि जनाएको छ। 

ट्रम्पको पछिल्लो चेतावनी अमेरिका र क्यानडाबीच व्यापार तनाव चर्किरहेका बेला आएको हो। क्यानडाले मंगलबारदेखि करिब २० अर्ब अमेरिकी डलर बराबरका अमेरिकी वस्तुमा प्रतिशोधात्मक कर लगाउने तयारी गरेको छ। ती करमा स्टिल, डेरी उत्पादन, कृषि उपकरणलगायत विभिन्न वस्तु समेटिएका छन्। 

बम्बार्डियरमाथि ट्रम्पको यो पहिलो दबाब भने होइन। यसअघि जनवरीमा पनि ट्रम्पले क्यानडाले अमेरिकी विमान निर्माता गल्फस्ट्रीमका केही विमानलाई प्रमाणित गर्न ढिलाइ गरेको आरोप लगाउँदै क्यानडामा बनेका विमानमाथि ५० प्रतिशतसम्म कर लगाउने तथा बम्बार्डियरका विमानको अमेरिकी प्रमाणीकरण रद्द गर्ने चेतावनी दिएका थिए। ती कदम भने कार्यान्वयनमा आएका थिएनन्। 

अमेरिकी बजार बम्बार्डियरका लागि महत्वपूर्ण मानिन्छ। त्यसैले ट्रम्पको पछिल्लो चेतावनी कार्यान्वयन भएमा कम्पनी मात्र नभई अमेरिका–क्यानडा जोडिएको विमान उद्योगको आपूर्ति शृंखलामा समेत असर पर्न सक्ने आकलन गरिएको छ। यद्यपि, ट्रम्पले घोषणा गरेको सम्भावित बिक्री रोक कसरी कार्यान्वयन हुनेछ भन्ने विषयमा अमेरिकी प्रशासनले अहिलेसम्म स्पष्ट विवरण दिएको छैन। 

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x