काठमाडौँ, ११ असार — वैदिक सनातन धर्मावलम्बीले आज ज्येष्ठ शुक्ल एकादशीका अवसरमा आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दैछन् । प्रत्येक वर्ष यसै दिन तुलसीको दल राख्ने परम्परा रहिआएको छ ।
यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । राखिएको तुलसीको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन रोपिन्छ । यस वर्ष अधिकमास भएकाले सौरमासअनुसारको ज्येष्ठ शुक्ल एकादशीमा तुलसी रोप्न नहुने भन्दै शुद्ध ज्येष्ठ एकादशीकै दिन आज दल राख्न लागिएको हो ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म तुलसीको विशेष पूजा गरिन्छ । यस अवधिमा तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गराइने धार्मिक मान्यता रहेको छ । यी चार महिनालाई चतुर्मास भनिन्छ ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराईका अनुसार चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । यस दिनलाई निर्जला एकादशी समेत भनिने भएकाले पानीसमेत नपिई व्रत गर्नाले अभिष्ट फल मिल्ने शास्त्रीय वचन रहेको उनले बताए ।
सक्नेले पानी नखाई व्रत गर्न सक्ने तथा नसक्नेका लागि फलफूल खाएर बस्न सकिने उनले जानकारी दिए । आयुर्वेदिक रूपमा औषधीय गुणले भरिपूर्ण तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । आधुनिक विज्ञानले समेत तुलसीमा प्रशस्त मात्रामा अक्सिजन पाइने प्रमाणित गरेको छ ।








