रसुवा बाढीका मृतकका परिवारलाई कोहलपुर नगरपालिकाले ५० हजार राहत दिने

नेपालगञ्ज।  रसुवा बाढीमा परी ज्यान गुमाएका कोहलपुर नगरपालिकाका नागरिकका परिवारलाई स्थानीय सरकारले काजकिरिया खर्चबापत जनही रु ५० हजार तत्काल आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। नगरप्रमुख पूर्णप्रसाद आचार्यका अनुसार शनिबार बसेको नगर कार्यपालिकाको बैठकले मृतकका परिवारलाई राहत दिने निर्णय गरेको हो।

हालसम्म बाढीका कारण कोहलपुर नगरपालिका–११ का कबिलाल थारु र महेश थारु गरी दुई जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। कबिलालको शव चितवनमा फेला परेपछि कोहलपुर ल्याएर अन्त्येष्टि गरिएको छ भने महेशको शव पनि कोहलपुर ल्याइसकिएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिएका छन्।

बाढीपछि कोहलपुरका ११ जना नागरिक अझै सम्पर्कविहीन छन्। बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि नगरपालिकाले वडा नम्बर १२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहको नेतृत्वमा जनप्रतिनिधि, नगर प्रहरी र पीडित परिवारका सदस्य सम्मिलित विशेष टोली प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ। टोलीमा वडा नम्बर २ का वडाध्यक्ष हरिसिंह कठायत, वडा नम्बर ५ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष श्रीकृष्ण थारु समेत रहेका छन्।

नगर कार्यपालिका बैठकले बाढी प्रभावितको खोजी, उद्धार, राहत र शव व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले लिने निर्णय गरेको छ।

विपद् प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कोहलपुरका जनप्रतिनिधि र कर्मचारीहरूले आफ्नो ३ देखि ७ दिनसम्मको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय समेत गरेका छन्। नगरपालिकाले मृतकका परिवारलाई समवेदना व्यक्त गर्दै बेपत्ताको खोजी र राहत कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x