चीन-नेपाल सीमावर्ती तिब्बतमा पहिरो: ३ जनाको मृत्यु, २६० विदेशीसहित ५५८ जना अझै बेपत्ता

बेइजिङ ।  चीन-नेपाल सीमा नजिकै तिब्बतमा गएको भीषण लेदोसहितको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने २६० जना विदेशी नागरिकसहित ५५८ जना अझै बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै जनाएका छन्।

बुधबार बिहान सीमावर्ती चिनियाँ भूभागमा पहाडबाट लेदो, ढुङ्गा र भग्नावशेष खसेर भवनहरू पुरेको थियो। चिनियाँ सीमा क्षेत्रको एक निगरानी क्यामेरा (सीसीटीभी) को दृश्यमा पहिरो र लेदोको ठूलो बहाव तीव्र गतिमा खसिरहँदा दर्जनौँ मानिसहरू ज्यान जोगाउन भागिरहेको देखिन्छ।

घटनालगत्तै उद्धार डग र ड्रोनसहित एक हजारभन्दा बढी उद्धारकर्मीहरू बेपत्ताको खोजीमा खटिएका छन्। तर, माथिल्लो क्षेत्रमा बनेको थुनिएको ताल (जलाशय) को अस्थिरता र साँघुरो पहाडी सडकका कारण उद्धार कार्यमा अनेकौँ चुनौतीहरू सामना गर्नुपरेको चिनियाँ सशस्त्र प्रहरी बलका अधिकारी ली छिपुले सरकारी टेलिभिजन सीसीटीभीलाई बताएका छन्। वरपरका सहायक सडकहरू खुला रहेकाले पछाडिको भागबाट राहत सामग्री पठाउन सम्भव भए पनि मुख्य विपद् क्षेत्रसम्म ठूला सवारी साधन र भारी उपकरणहरू पुग्न सकेका छैनन्।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार अधिकारीहरूले सीमा क्षेत्रमा करिब ८०० जना उद्धारकर्मी र १५० भन्दा बढी सवारी साधनहरू परिचालन गरेका छन्। यस्तै दमकल सेवाले ४३१ जना टोली, खोज्ने तालिमप्राप्त कुकुर, जीवन पत्ता लगाउने स्क्यानर  र साना डुङ्गाहरू परिचालन गरेको छ।

सीसीटीभीले सशस्त्र प्रहरीका जवानहरू कोदालोसहित उद्धारमा जुटेको र ड्रोन उडाइरहेको दृश्य प्रसारण गरेको छ। राहत सामग्री बोकेका नागरिक तथा सैन्य विमानहरू तिब्बत पुगिसकेको र रातभर परेको वर्षाका कारण थप पहिरो तथा चट्टान खस्ने जस्ता दोस्रो तहका विपद्को जोखिम अझै उच्च रहेको जनाइएको छ।

तिब्बत स्वायत्त क्षेत्रमा विदेशी पत्रकारहरूलाई स्वतन्त्र रूपमा जान प्रतिबन्ध रहेकाले सरकारले आयोजना गर्ने सीमित भ्रमणहरूमा मात्र पत्रकारहरूलाई अनुमति दिने गरिन्छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x