काठमाडौं । भोटेकोशी र त्रिशूली नदीसहित आसपासका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम कायमै रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार भोटेकोशीको माथिल्लो तटीय क्षेत्रमा वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेकाले रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी तथा त्रिशूली नदीमा जलसतह उल्लेख्य बढ्न सक्ने देखिएको छ। आसपासका साना नदी तथा खोलामा समेत आकस्मिक बाढी आउन सक्ने महाशाखाको पूर्वानुमान छ।
महाशाखाका बाढीविद् सरस्वती विष्टले भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढीको उच्च सम्भावना रहेकाले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताइन्।
यसअघि भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङसहितका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। त्यसपछि पनि नदीको बहाव र माथिल्लो तटीय क्षेत्रमा हुने वर्षालाई निरन्तर निगरानीमा राखिएको छ।
महाशाखाले पूर्वी र मध्य पहाडी क्षेत्रका विभिन्न जिल्लाका साना नदीमा समेत बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, स्याङ्जा, पर्वत र डोल्पामा यस्तो जोखिम रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालीकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी, दार्चुला र कञ्चनपुर आसपासका साना नदीमा पनि बहाव बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
बाढीको सम्भावना रहेका नदी तथा खोलाको किनारमा नजान, रातको समयमा विशेष सावधानी अपनाउन तथा महाशाखा र स्थानीय प्रशासनबाट जारी हुने पूर्वसूचनालाई आधार मानेर सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।
भोटेकोशी र त्रिशूलीको बहाव यसअघि सतर्कता तहभन्दा तल रहे पनि महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो।








