कोलकाता । भारतको पश्चिम बङ्गालमा सत्ता परिवर्तनको सङ्घारमा राजनीतिक हिंसा भड्किएको छ। विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले ऐतिहासिक जित हासिल गरेलगत्तै पार्टीका एक प्रभावशाली नेताका सहयोगीको गोली हानी हत्या गरिएको छ।
बुधबार राति कोलकातामा ४१ वर्षीय चन्द्रनाथ रथमाथि मोटरसाइकलमा आएका अज्ञात बन्दुकधारीहरूले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। प्रहरीका अनुसार रथ भाजपाका प्रदेश प्रमुख तथा भावी मुख्यमन्त्रीका दाबेदार सुभेन्दु अधिकारीका निकट सहयोगी हुन्। कोलकातास्थित आफ्नै घर नजिकै कारमा सवार रथलाई आक्रमणकारीहरूले बाटो छेकेर नजिकैबाट करिब एक दर्जन गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
राज्य प्रहरी प्रमुख सिद्धनाथ गुप्ताले घटना राति करिब ११ बजे भएको जानकारी दिए। प्रहरीले आक्रमणमा प्रयोग गरिएको मोटरसाइकल बरामद गरेको छ, जसमा नक्कली दर्ता नम्बर प्रयोग गरिएको पाइएको छ। अपोलो अस्पतालका चिकित्सक प्रीतम सेनगुप्ताले रथको शरीरमा धेरै गोली लागेको र अस्पताल ल्याउनुअघि नै उनको मृत्यु भइसकेको पुष्टि गरे।
भाजपाले यस घटनालाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ। नेता सुभेन्दु अधिकारीले यसलाई ‘ठण्डा दिमागले गरिएको योजनाबद्ध हत्या’ भन्दै दोषीमाथि कडा कारबाहीको माग गरे। भाजपा अध्यक्ष समिक भट्टाचार्यले हत्यामा तृणमूल काङ्ग्रेस (टीएमसी) का कार्यकर्ताको संलग्नता रहेको दाबी गरे।
यता, निवर्तमान सत्तारूढ दल तृणमूल काङ्ग्रेसले विज्ञप्ति जारी गर्दै हत्यामा आफ्नो संलग्नता अस्वीकार गरेको छ। पार्टीले घटनाको निन्दा गर्दै आफ्ना कार्यकर्तामाथि पनि भाजपा समर्थित समूहबाट आक्रमण भइरहेको आरोप लगाएको छ।
हालै सम्पन्न निर्वाचनमा भाजपाले २९४ सदस्यीय विधानसभामा २०७ सिट जित्दै स्पष्ट बहुमत प्राप्त गरेको छ। सन् २०११ देखि सत्तामा रहेकी ममता बनर्जी आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएकी छन्, यद्यपि उनले निर्वाचन परिणाममा अनियमितता भएको दाबी गर्दै आएकी छन्। राजनीतिक विश्लेषकहरूले यस जितलाई हिन्दी भाषी क्षेत्रबाहिर भाजपाको सबैभन्दा ठूलो रणनीतिक विस्तारका रूपमा लिएका छन्।
निर्वाचन परिणाम सार्वजनिक भएयता राज्यमा भएका हिंसात्मक झडपमा परी हालसम्म कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ। भाजपाले शनिबार संसदीय दलको बैठकपछि नयाँ मुख्यमन्त्रीको शपथ ग्रहण गर्ने तयारी गरिरहेका बेला भएको यो हत्याले राज्यको सुरक्षा व्यवस्था र राजनीतिक भविष्यलाई लिएर थप संशय पैदा गरेको छ।








