बाङ्गी । मध्य अफ्रिकी गणतन्त्र सरकारले यसै साता १०० भन्दा बढी मानिसको ज्यान जाने गरी भएको दुर्घटनापछि एक सुन खानी बन्द गराएको छ। नियामक मापदण्डहरू पालना नगरेको भन्दै शनिवार सो खानी बन्द गर्ने निर्णय गरिएको हो।
खानी तथा भूगर्भ मन्त्री रुफिन बेनाम बेल्टोङ्गुले देशको पश्चिमी क्षेत्रमा रहेको जाम्बोये सुन खानी बन्द गरिएको घोषणा गरे। “खानीसम्बन्धी मापदण्ड र प्रशासनिक निर्देशनहरूको पालना नगरिएकाले” यो निर्णय लिइएको मन्त्री बेल्टोङ्गुले बताएका छन्। सो खानी दुर्घटनामा परेर अन्य कैयौँ मानिस घाइते समेत भएका छन् भने घटनाबारे छानबिन जारी छ।
बहुमूल्य खनिज पदार्थले धनी यस अफ्रिकी मुलुकमा यस्ता खानी दुर्घटनाहरू निरन्तर हुने गरेका छन्। जनसङ्ख्याको ठूलो हिस्सा जीविकोपार्जनका लागि साना स्तरका उत्खननमा निर्भर रहेकाले यस्ता जोखिमहरू बढेका हुन्। पर्याप्त सुरक्षा उपकरणको अभाव र कमजोर सरकारी अनुगमनका कारण पटक-पटक घातक दुर्घटनाहरू हुने गरेका छन्।
दुर्घटनाको परिमाण ठूलो भए पनि दक्ष जनशक्ति र आवश्यक उपकरणको अभावमा स्थानीय श्रमिकहरूले गरेको उद्धार कार्य प्रभावित भएको थियो। जाम्बोये खानी दुर्घटना हुनुअघि नै आधिकारिक रूपमा बन्द गरिएको भए पनि गैरकानुनी रूपमा उत्खननकर्ताहरूले काम जारी राखेका थिए।
नागरिक समाज संस्था ‘आई ग्वे’ का नेता क्वेन्टिन न्गबुवान्डोले मन्त्रीको निर्णय स्वाभाविक भए पनि गैरकानुनी रूपमा काम गर्नेहरूले कानुनी दायराभन्दा बाहिर गएर उत्खनन गरिरहेको बताए।








