काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं उपत्यकाका विभिन्न सरकारी कार्यालयको सेवा प्रवाह, कर्मचारीको समयपालना तथा पोसाक र आचरणको अवस्थाबारे अनुगमन गरी सुधारका लागि निर्देशन दिएको छ।
केन्द्रका अनुसार भदौ ५ गते शुक्रबार काठमाडौं, ललितपुर र भक्तपुरका पन्ध्र वटा कार्यालयमा यो अनुगमन कार्य सम्पन्न भएको थियो। अनुगमनमा परेका कार्यालयहरूमा यातायात व्यवस्था कार्यालय एकान्तकुना र जडीबुटी, जिल्ला खेलकुद विकास समिति भक्तपुर र ललितपुर, काठमाडौं महानगरपालिकाका वडा नं. ७ र ८, रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, डिभिजन वन कार्यालय सानोठिमी, मनोहरा जग्गा एकीकरण आयोजना, आन्तरिक राजस्व कार्यालय कोटेश्वर, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र, नेपाल गुणस्तर तथा नापतौल विभाग, राष्ट्रिय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र, आन्तरिक राजस्व कार्यालय बालाजु र काठमाडौं दुग्ध वितरण आयोजना पर्दछन्।
अनुगमनका क्रममा कार्यरत कर्मचारीमध्ये केही तोकिएको समयमा कार्यालयमा उपस्थित नभएको र कतिपयले तोकिएको पोसाक नलगाएको पाइएको छ। यसै आधारमा केन्द्रले सम्बन्धित कार्यालयलाई प्रचलित कानुनबमोजिम कर्मचारीमाथि आवश्यक कारबाही गरी जानकारी गराउन निर्देशन दिएको छ, भने कतिपय कार्यालयलाई सेवा प्रवाह थप प्रभावकारी र जनमैत्री बनाउन विशेष निर्देशन दिइएको छ।
कार्यालयगत रूपमा हेर्दा, काठमाडौं महानगरपालिकाका वडा नं. ७ र ८ लाई सेवा प्रवाह थप प्रभावकारी र जनमैत्री बनाउन भनिएको छ। रामघाट प्राथमिक स्वास्थ्य केन्द्रलाई सेवासम्बन्धी प्रचलित कानुनबमोजिम कारबाही गरी केन्द्रलाई जानकारी गराउन निर्देशन छ। मनोहरा जग्गा एकीकरण आयोजनालाई अनिवार्य नागरिक बडापत्र राख्न र नबसेको सहयात्री समितिको बैठक बोलाउन भनिएको छ। जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रलाई प्रचलित कानुनबमोजिम कारबाहीको निर्देशन दिइएको छ भने काठमाडौं दुग्ध वितरण आयोजनालाई ई-हाजिरी प्रणाली जडान गर्न भनिएको छ।
केन्द्रले सरकारी सेवालाई नागरिकमैत्री, अनुशासित र मर्यादित बनाउन आफ्नो सक्रियता थप बढाएको जनाएको छ। यस्तै अनुगमन तथा आवश्यक सुधारका लागि आगामी दिनमा पनि नियमित रूपमा यस्तो कारबाही जारी रहने केन्द्रले बताएको छ। साथै, कुनै पनि सरकारी निकायमा भ्रष्टाचार भएको, कर्मचारीले आचारसंहिता पालना नगरेको वा शंकास्पद सम्पत्ति रहेको जानकारी भए नागरिकले केन्द्रको हटलाइन नम्बर ०१४२००३४५ मा फोन गरी सूचना दिन सक्ने केन्द्रले जनाएको छ।








