येरेभान । भारत र अर्मेनियाबीच रक्षा क्षेत्रमा अनुसन्धान, विकास, नवाचार (इन्नोभेसन) तथा संयुक्त उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले एक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
भारतीय रक्षा मन्त्रालयका अनुसार येरेभान भ्रमणमा रहेका भारतीय रक्षा सचिव राजेश कुमार सिंह र अर्मेनियाका उच्च प्रविधि उद्योग मन्त्री डेभिड तादेवोस्यानबीच अगस्ट १७ मा भएको भेटवार्तापछि उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो। दुवै पक्षले आपसी हितका क्षेत्रहरूमा द्विपक्षीय रक्षा औद्योगिक सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्। यसै क्रममा, रक्षा सचिव सिंहले अर्मेनियाका रक्षा मन्त्री सुरेन पापिक्यानसँग पनि द्विपक्षीय रक्षा संलग्नतालाई थप सुदृढ बनाउने सम्भावित उपायहरूबारे छलफल गरे। उक्त बैठकमा अर्मेनियाका लागि भारतीय राजदूत निलाक्षी साह सिन्हाको पनि उपस्थिति रहेको थियो।
भ्रमणका क्रममा रक्षा सचिव सिंहले अर्मेनियाका चिफ अफ जनरल स्टाफ लेफ्टिनेन्ट जनरल एडभार्ड अस्रयानसँग भेट गरी रक्षा अनुसन्धान तथा विकासमा ध्यान केन्द्रित गर्दै रक्षा साझेदारीलाई थप बलियो बनाउने विषयमा जोड दिए।
आइतबार दुई दिने भ्रमणका क्रममा येरेभान पुगेका रक्षा सचिव सिंहलाई राजदूत सिन्हा र अर्मेनियाली रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए। यो भ्रमण यसै वर्षको अप्रिलमा अर्मेनियाली सैन्य प्रतिनिधिमण्डलले नयाँ दिल्लीको भ्रमण गरेपछि सुरु भएको द्विपक्षीय रक्षा सहकार्यको निरन्तरता हो।








