संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन दुजारिकले लेबनानमा १० लाखभन्दा बढी मानिस विस्थापित अवस्थामा रहेको जानकारी दिएका छन्। दैनिक प्रेस ब्रिफिङका क्रममा उनले देशभरका ६०० भन्दा बढी सामूहिक आश्रयस्थलमा १ लाख २६ हजार मानिस बसिरहेको र बाँकी विस्थापितहरू आधिकारिक आश्रयस्थल बाहिरै रहेको बताए। दुजारिकका अनुसार गत मार्च २ देखि राष्ट्रसङ्घले ११० वटा मानवीय सहायता टोलीको आवागमन सहज बनाए पनि असुरक्षा, आवतजावतमा प्रतिबन्ध, विष्फोटक पदार्थ र क्षतिग्रस्त पूर्वाधारका कारण सहायता वितरणमा अझै बाधा पुगिरहेको छ।
लेबनानमा तैनाथ राष्ट्रसङ्घीय अन्तरिम बल (युनिफिल) ले इजरायली सेनाका गतिविधिहरूलाई निरन्तर निगरानी गरिरहेको पनि उनले उल्लेख गरे। इजरायली सेनाले भारी सशस्त्र सवारी साधनको परिचालन, इन्जिनियरिङ अपरेसन र सैन्य बन्दोबस्तीका कामहरू तीव्र पारेको छ। जारी सैन्य संघर्षका कारण शान्ति सैनिक र राष्ट्रसङ्घीय कार्यालयहरू प्रत्यक्ष प्रभावित भएको चेतावनी दिँदै दुजारिकले बुधबार एल बियादास्थित युनिफिलको एक साइटमा इजरायली सैन्य गतिविधि र दोहोरो भिडन्तका कारण तीनवटा भवनका बाहिरी पर्खालमा क्षति पुगेको जानकारी दिए।
यसैगरी, प्रवक्ता दुजारिकले बुधबार साँझ बेरुतको दक्षिणी उपनगरमा भएको इजरायली आक्रमणमा बालबालिकासहित सर्वसाधारण मारिएको रिपोर्टप्रति गहिरो चिन्ता व्यक्त गरे। उनले गत अप्रिल १७ मा घोषित युद्धविराम र त्यसपछिको म्याद थपयता लेबनानी राजधानीलाई लक्षित गरी गरिएको यो पहिलो आक्रमण भएको स्पष्ट पारे।








