वासिङ्टन । अमेरिकाले युरोपमा आफ्नो सैन्य उपस्थिति र भूमिकासम्बन्धी व्यापक पुनरावलोकन औपचारिक रूपमा सुरु गरेको छ। अमेरिकी रक्षा सचिव पिट हेगसेथले गत महिना नेटो सहकर्मीहरूलाई यस योजनाबारे जानकारी दिएपछि पेन्टागनले सोमबारबाट यो प्रक्रिया अघि बढाएको हो।
अमेरिकी रक्षा उपसचिव एल्ब्रिज कोल्बीले सामाजिक सञ्जाल एक्स (X) मा जानकारी दिँदै यो समीक्षा युरोपले आफ्ना परम्परागत रक्षाको प्राथमिक जिम्मेवारी आफैँ लिनका लागि लक्षित रहेको बताएका छन्। उनले यस कदमले नेटो गठबन्धनलाई अझ बलियो, सन्तुलित र दिगो बनाउन मद्दत पुर्याउने दाबी गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका क्रममा युरोपेली सहयोगी राष्ट्रहरूले देखाएको व्यवहार, विशेष गरी सुरुवाती चरणमा अमेरिकी सेनालाई त्यहाँका सैन्य बेस प्रयोग गर्न नदिएको विषयलाई लिएर असन्तुष्टि व्यक्त गर्दै आएका छन्। रक्षा सचिव हेगसेथले पनि नेटोका सदस्य राष्ट्रहरूले रक्षा बजेटको तोकिएको लक्ष्य पूरा नगरे अमेरिकाले नेटोमा गर्दै आएको खर्च कटौती गर्ने चेतावनी दिइसकेका छन्।
अमेरिकाले आफ्नो मुख्य ध्यान चीनतर्फ केन्द्रित गर्न खोजेकाले युरोपेली देशहरूलाई आफ्नो रक्षाको मुख्य जिम्मेवारी आफैँ सम्हाल्न आग्रह गर्दै आएको छ। सोही रणनीतिअन्तर्गत पेन्टागनले नेटो अभियानका लागि उपलब्ध गराउँदै आएका सैन्य स्रोत-साधनहरू विश्वव्यापी रूपमा घटाउन थालिसकेको छ।








