बुडापेस्ट। हंगेरीको संसदीय निर्वाचनमा प्रधानमन्त्री भिक्टर अर्बान १६ वर्षको लामो शासनपछि पराजित भएका छन् । विपक्षी टिस्जा पार्टीका नेता पेटर माद्यारको नेतृत्वमा रहेको गठबन्धनले दुईतिहाइ बहुमत हासिल गर्ने प्रक्षेपण गरिएको छ । लगभग सबै मतगणना सकिएपछि टिस्जा पार्टीले ५३ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको छ भने अर्बानको फिडेस पार्टी करिब ३७ प्रतिशतमा सीमित भएको छ । यो निर्वाचनमा मतदाताको उपस्थिति झन्डै ८० प्रतिशत रहेको छ, जुन हंगेरीको आधुनिक इतिहासमा सबैभन्दा उच्च हो । माद्यारले भ्रष्टाचार विरोधी र स्वास्थ्य, शिक्षा जस्ता जनजीविकाका मुद्दाहरूलाई प्राथमिकतामा राख्दै निर्वाचन जितेपछि हंगेरीलाई युरोपेली सङ्घ तथा नेटोसँगको सम्बन्ध सुधार्ने प्रतिबद्धता जनाएका छन् ।
अर्बानले आफ्नो पराजय स्वीकार गर्दै “पीडादायी तर स्पष्ट” भन्दै विजेतालाई बधाई दिएका छन् । राजधानी बुडापेस्टमा हजारौं समर्थकहरूले डेन्युब नदी किनारमा जितको जश्न मनाएका छन् भने फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोँलगायत युरोपेली नेताहरूले माद्यारलाई बधाई दिँदै हंगेरीको लोकतान्त्रिक मूल्यमाथि पुनःस्थापित विश्वास व्यक्त गरेका छन् ।








