सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा ९ जनाको मृत्यु, १५ भन्दा बढी थुनिए

नयाँ दिल्ली। भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा कम्तीमा ९ जना मजदुरको मृत्यु भएको छ भने १५ भन्दा बढी सुरुङभित्रै थुनिएका छन्।

टिस्टा नदीमा निर्माणाधीन सरकारी जलविद्युत् आयोजनाको सुरुङभित्र सोमबार यो दुर्घटना भएको हो। सुरुङभित्र करिब २५ देखि २७ जना कामदार फसिरहेको अनुमान गरिएको सिक्किम राज्य विपद् व्यवस्थापन प्राधिकरणका निर्देशक राजीव रोकाले बताए। उनका अनुसार हालसम्म ९ जनाको शव बाहिर निकालिएको छ।

सुरुङभित्र विस्फोट भएपछि पहिरो गएर दुर्घटना भएको प्रारम्भिक अनुमान छ, तर विस्फोटको स्पष्ट कारण खुल्न सकेको छैन। पछिल्ला केही दिनयता सो क्षेत्रमा भारी मनसुनी वर्षा भइरहेको थियो। सुरुङको धेरै गहिराइमा घटना भएकाले विस्फोटको मुख्य कारण पत्ता नलागे पनि यो प्राकृतिक कारणले नै भएको हुनसक्ने अधिकारीहरूको भनाइ छ।

दुर्घटनापछि सुरुङभित्र भूमिगत चट्टानबाट विषाक्त मिथेन ग्यास चुहिएकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ। अक्सिजन सिलिन्डर र विशेष उपकरण बोकेका उद्धारकर्मीहरूलाई मात्र भित्र पठाउन सकिएको छ। तीव्र गतिमा उद्धार प्रयास भइरहे पनि अत्यधिक ग्यासका कारण बाधा पुगेको छ।

उद्धार कार्यलाई प्रभावकारी बनाउन खानी दुर्घटनासम्बन्धी विशेषज्ञ टोलीलाई हवाई मार्गबाट घटनास्थल पुर्‍याइएको छ।

भारतमा ठूला पूर्वाधार निर्माणका क्रममा यस्ता दुर्घटनाहरू भइरहन्छन्। वातावरणीय जोखिम मानिने हिमाली क्षेत्रमा तीव्र र अनियन्त्रित विकास निर्माणका कारण प्रकोपको जोखिम थप बढेको वातावरणविद्हरूको तर्क छ। यसअघि सन् २०२३ मा पनि उत्तराखण्ड राज्यमा एक सडक सुरुङ भत्किँदा ४१ जना मजदुर १७ दिनसम्म भित्रै फसेका थिए, जसलाई पछि सकुशल उद्धार गरिएको थियो।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x