धादिङको सिद्धलेक गाउँपालिका–७ पिपलटारमा आधुनिक कृषि प्रविधि र प्राविधिक ज्ञानको विस्तारसँगै तरकारी उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । परम्परागत खेती विधिलाई त्यागेर वैज्ञानिक विधि अपनाएपछि उत्पादन करिब दोब्बरले बढेको स्थानीय कृषकहरूले बताएका छन् ।
अगुवा कृषक कृष्ण अधिकारीका अनुसार विगतमा २०० किलो भण्टा उत्पादन हुने जग्गामा अहिले ४०० किलोसम्म उत्पादन हुन थालेको छ । उनले भने, “भण्टा र भिण्डी लगाउँदा गोडमेल गर्न र टिप्न सजिलो हुन्छ भनेर पहिले पातलो गरी बोटहरू रोप्थ्यौँ । अहिले बिरुवा रोप्ने बेलैमा नापेर लगाउँछौँ । निश्चित दूरीमा धेरै बोटहरू भएपछि उत्पादन पनि धेरै हुने रहेछ ।”
खेतबारीमै प्राविधिक ज्ञान पाउन थालेपछि पिपलटारका कृषकहरू उत्पादन बढाउन सफल भएका हुन् । “पहिला खेती गर्ने सही तरिका र प्रविधि थाहा थिएन, अहिले प्राविधिकहरू खेतबारीमै आएर तरकारी लगाउने तरिका र रोगकीराबारे जानकारी दिनुहुन्छ, उत्पादन पनि बढेको छ,” अधिकारीले विगत र वर्तमान तुलना गर्दै सुनाए ।
पिपलटारका किसानहरूले यसअघि पनि तरकारीखेती गर्दै आएका थिए तर परम्परागत विधिले उत्पादन कम थियो । विगत दुई वर्षअघिदेखि खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फानसेप) ले खेतबारीमै पुगेर प्राविधिक सहयोग उपलब्ध गराउन थालेपछि उत्पादनसँगै आम्दानीमा पनि केही वृद्धि भएको किसानको भनाइ छ ।
हाल पिपलटारका फाँटहरू घिरौँला, बोडी, भिण्डी, चिचिन्डो, लौका, करेला र भण्टा लगायत मौसमी तथा बेमौसमी तरकारीले भरिभराउ छन् । सिद्धलेक–७ मा करिब ५०० किसानले तरकारीखेती गरिरहेका छन् । यहाँका एक जना किसानले एक खेपमा एक हजार किलोसम्म तरकारी सङ्कलन गर्ने गरेको बताइएको छ ।
स्थानीय कृषक सुनिता कोइराल बिसुन्के भन्छिन्, “खेती गर्ने सही तरिका र विधि थाहा नहुँदा पहिले दुःख बढी र उत्पादन कम हुन्थ्यो । अहिले दुःख कम, उत्पादन बढी भइरहेको छ ।”
पिपलटारमा उत्पादित तरकारीको सङ्कलन र बजारीकरण व्यवस्थित गर्न फानसेप र सिद्धलेक गाउँपालिकाको समन्वयमा स्थानीय तरकारी सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको छ । गाउँमै सङ्कलन केन्द्र स्थापना भएपछि किसानहरूलाई उत्पादन बिक्री गर्न सहज भएको छ र बिचौलिया प्रथाबाट केही हदसम्म राहत मिलेको उनीहरूको भनाइ छ ।
यद्यपि, बजारको उतारचढावका कारण उत्पादित तरकारीले उपयुक्त मूल्य पाउन नसकेको गुनासो किसानको छ । बिसुन्के थप्छिन्, “पहिले परम्परागत तरिकाले बीउ राख्थ्यौँ र पुरानै शैलीले लगाउँथ्यौँ, उत्पादन निकै कम हुन्थ्यो । अहिले प्रविधिले उत्पादन त बढाएको छ तर आम्दानी भने अझै सोचेजस्तो हुन सकेको छैन ।”
वडा नम्बर ७ का झण्डै आधा घरपरिवारको प्रमुख आर्थिक स्रोत तरकारी व्यवसाय नै हो । अगुवा किसान सीता गिरीका अनुसार उत्पादनको परिमाण र गुणस्तरमा सकारात्मक परिवर्तन आएको छ तर सरकारले बजार सुनिश्चित गरी उचित मूल्य दिन सके किसानलाई थप राहत हुनेछ ।








