अमेरिकी सेनाले दक्षिणी इरानका क्षेप्यास्त्र प्रहार केन्द्र र माइन (विस्फोटक पदार्थ) बिच्छाउन लागेका डुङ्गाहरूलाई लक्षित गरी नयाँ हवाई आक्रमण गरेको छ । इरान र अमेरिकाबीच जारी युद्धविरामकै बीच यो सैन्य कारबाही भएको हो ।
अमेरिकी सेन्ट्रल कमाण्डले एक विज्ञप्ति जारी गर्दै आफ्ना सेनाको सुरक्षाका लागि “आत्मरक्षा” स्वरूप यो कदम चालिएको स्पष्ट पारेको छ । कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले सेनाले संयमता अपनाउँदै रक्षात्मक कारबाही गरिरहेको दाबी गरे ।
न्युयोर्क टाइम्सका अनुसार यो आक्रमण रणनीतिक रूपमा महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ मा अवस्थित इरानी नौसैनिक अखडा रहेको बन्दर अब्बास सहर नजिक भएको हो । इरानी सरकारी सञ्चारमाध्यमले बन्दर अब्बासमा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएको र स्थानीय अधिकारीहरूले यसबारे अनुसन्धान सुरु गरेको जनाएका छन् ।
यस आक्रमणले दुई देशबीच भइरहेको शान्ति वार्तालाई कस्तो असर पार्छ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन र इरानले यसबारे आधिकारिक प्रतिक्रिया दिन बाँकी छ ।
आक्रमणका बाबजुद दुवै पक्षले कूटनीतिक संवाद जारी रहने सङ्केत दिएका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकासँगको वार्तामा केही प्रगति भएको स्वीकार गरे पनि तत्कालै सम्झौता भइहाल्ने सम्भावनालाई भने नकारे । उनले भने, “धेरैजसो विषयमा सहमति जुटेको कुरा सही हो, तर सम्झौताको हस्ताक्षर तत्कालै हुन्छ भन्न सकिन्न ।”
यसैबीच, भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सम्झौता अझै सम्भव रहेको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताकारहरूलाई हतार नगर्न निर्देशन दिएको उल्लेख गर्दै ब्लिन्केनले ट्रम्प कि त राम्रो सम्झौता गर्ने, कि त सम्झौतै नगर्ने पक्षमा रहेको जानकारी दिए । कतारका प्रधानमन्त्रीको मध्यस्थतामा इरानी र अमेरिकी वार्ताकारहरूबीच मंगलबार पनि छलफल हुँदै छ ।
प्रस्तावित सम्झौताको मस्यौदामा ६० दिनको युद्धविराम थप गर्ने, स्ट्रेट अफ हर्मुज खुला गर्ने र इरानको आणविक कार्यक्रमबारे थप छलफल गर्ने विषयहरू समावेश छन् ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार इरानका सर्वोच्च नेता मोज्ताबा खामेनी (जो युद्धको पहिलो दिन इजरायली आक्रमणमा घाइते भएका थिए) अज्ञात स्थलमा रहेका कारण आफ्ना दूतहरूसँग सहज सञ्चार हुन नसक्दा वार्ताको गति धिमा भएको हो ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण गरेपछि यो क्षेत्रीय द्वन्द्व सुरु भएको थियो । इरानले जवाफी कारबाही स्वरूप स्ट्रेट अफ हर्मुज बन्द गरेपछि विश्वभर इन्धनको मूल्य अत्यधिक बढेको थियो । अप्रिल ८ देखि दुवै पक्षले युद्धविराम पालना गरिरहेका छन् ।








