म्याग्दी । धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालसँग जोडिएको छ। योसँगै म्याग्दीका छवटै स्थानीय तहका ४५ वटै वडामा सडक पहुँच पुगेको छ।
लुलाङ–गुर्जा सडक आयोजनाअन्तर्गत कानबराह नजिकै सडक मार्ग खोल्न प्रयोग भएको डोजरसहित एउटा जिप बिहीबार गुर्जा पुगेको स्थानीय वडाध्यक्ष झक छन्त्यालले जानकारी दिए। गुर्जा गाउँसम्म गाडी पुर्याउन अझै करिब एक किलोमिटर मार्ग निर्माण बाँकी रहेको र आगामी एक हप्ताभित्र त्यो पूरा गर्ने तयारी भएको उनले बताए।
धवलागिरि गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०७९/८० देखि सुरु भएको लुलाङ–गुर्जा सडकलाई पालिकाको गौरवको प्राथमिकताप्राप्त आयोजनाका रूपमा अघि बढाइएको थियो। चालु आर्थिक वर्षमा एक करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको योजनाअन्तर्गत लुलु कन्ट्रक्सनले ८८ लाख ८५ हजार रुपैयाँमा ठेक्का लिएको थियो।
यसअघि गुर्जाबाट लुलाङ पुग्न पूरै दिन पैदल यात्रा गर्नुपर्ने अवस्था थियो। अहिले गाडी पुग्ने गाउँदेखि पाँच मिनेट पैदल हिँडेर गुर्जा पुग्न सकिने भएको छ। गाडी सञ्चालन हुन थालेपछि गुर्जाबाट पालिका केन्द्र मुना दुई घण्टा ३० मिनेट, बेनी पाँच घण्टा र पोखरा सात घण्टामा पुग्न सकिने स्थानीय बताउँछन्।
गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा रहेको गुर्जामा सडक पुर्याउन तीनै तहका सरकार र समुदायको सहकार्य भएको बताए। उनले म्याग्दीका सबै वडामा अब सडक पुगेको उल्लेख गरे।
सडक पहुँच विस्तारसँगै गुर्जामा पर्यटकको आगमन बढ्न थालेको छ। स्थानीय गोर्खा छन्त्यालका अनुसार गाडी चल्न थालेपछि बिरामीलाई अस्पताल पुर्याउन, कृषि उपज, पशुजन्य वस्तु तथा जडीबुटीको बजारीकरणमा सहजता आएको छ।
गुर्जा जोड्ने सडकको ग्रेड, घुम्ती, साँघुरो स्थानको फराकिलोकरण र पक्की नालाका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारको सहरी विकास मन्त्रालयले तीन करोड र गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको छ। सोही सडक खण्डमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माण थालेको छ।
गुर्जामा अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको छ। एउटै बस्ती रहेको यस गाउँमा ६५ घरपरिवार र एक हजार ५०५ जनसङ्ख्या रहेको स्थानीय तथ्याङ्क छ।








