इराकी विद्रोही नेता अल-सराजीबारे सूचना दिनेलाई अमेरिकाद्वारा एक करोड डलर पुरस्कार घोषणा

अमेरिकी विदेश मन्त्रालयले इराकमा सक्रिय सशस्त्र समूह ‘कातेब सैयद अल-शुहादा’ (केएसएस) का नेता हाशिम फिन्यान रहिम अल-सराजीको बारेमा भरपर्दो जानकारी दिने व्यक्तिलाई एक करोड अमेरिकी डलरसम्मको पुरस्कार दिने घोषणा गरेको छ। ‘अबु अला अल-वलाई’ नामले समेत चिनिने अल-सराजीको गतिविधि, स्थान र पहिचान खुलाउने गरी सूचना उपलब्ध गराउनेलाई वासिङ्टनले सुरक्षा र स्थानान्तरणको सुविधासमेत दिने प्रतिबद्धता व्यक्त गरेको छ। तेहरानको समर्थन प्राप्त मानिने अल-सराजीको नेतृत्वमा रहेको समूहले इराक र सिरियास्थित अमेरिकी सैन्य अड्डा, कूटनीतिक संरचना र कर्मचारीहरूका साथै इराकी नागरिकमाथि समेत घातक आक्रमण गरेको आरोप अमेरिकाले लगाएको छ।

विशेषगरी फेब्रुअरी २८ मा अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमणपछि मध्यपूर्वमा बढेको तनावको बाछिटा इराकमा पनि देखिएको छ। यो सशस्त्र समूह इराकको सत्तारूढ शिया गठबन्धनको एक हिस्साका रूपमा संसदीय राजनीतिमा समेत प्रभावशाली रहेकाले यसले इराकको आन्तरिक राजनीतिक जटिलतालाई थप उजागर गरेको छ। यसैबीच, वासिङ्टनले इराकमा नगद ढुवानी रोक्ने र सुरक्षा कोष कटौती गर्ने निर्णयमार्फत तेहरान समर्थित समूहहरूमाथि आर्थिक दबाब बढाएको छ, जसले बगदाद र वासिङ्टनबीचको कूटनीतिक सम्बन्धमा थप तिक्तता पैदा गरेको छ। यसअघि पनि अमेरिकी पत्रकार शेली किटलेसनको अपहरणमा संलग्न ‘कातेब हिजबुल्लाह’ का नेता विरुद्ध अमेरिकाले यस्तै प्रकृतिको पुरस्कार घोषणा गरिसकेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x