भोटेकोशी बाढी : तीन प्रमुख सडकखण्डमा यात्रा नगर्न आग्रह, आवतजावतमा पूर्ण रोक

काठमाडौँ । भोटेकोशी नदीमा तिब्बततर्फबाट बुधबार बिहान ठूलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक र मुग्लिन–नारायणगढ सडकमा तत्काल यात्रा नगर्न आग्रह गरेको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बाढीका कारण नदीको बहाव बढेको र उक्त सडकखण्डमा पहिरो, कटान तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन भनिएको हो। “जोखिम कायमै रहेकाले अत्यावश्यक बाहेक ती सडकमा यात्रा नगर्न र सम्बन्धित निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह छ,” महतले भनिन्।

प्राधिकरणले सम्बन्धित स्थानीय तह तथा प्रशासनलाई ती सडकखण्डमा आवतजावतमा पूर्ण रोक लगाउने व्यवस्था मिलाउन र सुरक्षा निकायसँग समन्वय गर्न समेत आग्रह गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकाभित्रैबाट रसुवा, नुवाकोट, धादिङ र चितवनतर्फ जाने सवारीसाधन बुधबार बिहानदेखि नै रोकिएका छन्।

बाढीको प्रभाव त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा समेत पर्न सक्ने भएकाले ती नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जलतथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार बाढीको जोखिम तल्तिर मुग्लिनसम्म पुग्न सक्छ भने चितवनको देवघाटदेखि तल्लो नारायणी क्षेत्रसम्म असर पर्न सक्ने आकलन गरिएको छ।

रसुवाको टिमुरे र स्याफ्रुबेसी क्षेत्रमा बाढीले बजार, भन्सार परिसर र सडक पूर्वाधारमा पहिले नै क्षति पुर्‍याइसकेको छ। नुवाकोटको त्रिशूली बजार वरपर करिब ६० घर बगेको र त्रिशूली नदीमाथिका दुई पुल समेत बगेको स्थानीय प्रशासनले जनाइसकेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन भइरहेका छन् भने राष्ट्रिय विपद् प्राधिकरणको समन्वयमा खोज, उद्धार तथा राहत कार्य जारी छ।

प्राधिकरणले नदी तथा खोलाको किनारमा नजान, अनावश्यक यात्रा नगर्न र विपद्को अवस्था आएमा नजिकको जिल्ला प्रशासन कार्यालय वा सुरक्षा निकायसँग तत्काल सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x