मस्को/प्योङयाङ । रुस र उत्तर कोरियाबीच सैन्य सहकार्यलाई ‘दीर्घकालीन’ स्वरूप दिने औपचारिक सहमति भएको छ। रुसी रक्षा मन्त्रालयका अनुसार दुई देशबीच आगामी पाँच वर्षका लागि नयाँ सैन्य योजनामा हस्ताक्षर गर्ने तयारी समेत भएको छ। रुसी रक्षामन्त्री आन्द्रे बेलौसोभले उत्तर कोरियाको रक्षा मन्त्रालयसँग सैन्य सहकार्यलाई निरन्तर र दीर्घकालीन रूपमा अगाडि बढाउन दुवै पक्ष सहमत भएको जानकारी दिए। मन्त्री बेलौसोभका अनुसार सन् २०२७ देखि २०३१ सम्मको अवधिका लागि ‘रुसी–कोरियाली सैन्य सहयोग योजना’ यसै वर्ष हस्ताक्षर हुनेछ।
यसअघि सन् २०२४ मा दुई देशले एक रणनीतिक सैन्य सन्धिमा हस्ताक्षर गरेका थिए, जसमा कुनै पनि देशमाथि बाह्य आक्रमण भएको खण्डमा ‘ढिलाइ नगरी’ सैन्य सहायता उपलब्ध गराउनुपर्ने बाध्यात्मक व्यवस्था छ। युक्रेनसँगको युद्धमा रुसको पक्षबाट हजारौँ उत्तर कोरियाली सैनिकहरू सहभागी भएको र त्यसवापत प्योङयाङले रुसबाट आर्थिक सहयोग, सैन्य प्रविधि, खाद्यान्न र ऊर्जा प्राप्त गरिरहेको विश्लेषकहरूको ठम्याइ छ। दक्षिण कोरियाली स्रोतका अनुसार उक्त युद्धमा हालसम्म करिब २ हजार उत्तर कोरियाली सैनिकको मृत्यु भइसकेको छ। युक्रेनी हिरासतमा रहेका दुई सैनिक बाहेक अन्य कोही पनि जीवितै पक्राउ नपरेको र उत्तर कोरियाली सैनिकलाई पक्राउ पर्नुको साटो आत्महत्या गर्न निर्देशन दिइएको सूचनाहरू बाहिर आएका छन्।
रुसको पश्चिमी क्षेत्र कुस्र्कमा युक्रेनी सेनाको प्रत्याक्रमण रोक्न प्योङयाङले आफ्ना सैनिकहरू परिचालन गरेको छ। उक्त क्षेत्रमा खटिएका उत्तर कोरियाली सैनिकहरूलाई रुसी रक्षा मन्त्रालयले सैन्य पुरस्कारबाट सम्मानित गरेको छ। रुसी संसदका सभामुख भ्याचेस्लाभ भोलोदिनले कुस्र्कको लडाइँमा उत्तर कोरियाली सेनाको भूमिकाका लागि प्योङयाङमा नेता किम जोङ उनलाई भेटेर धन्यवाद दिए। भोलोदिनले कोरियाली सैनिकहरूले रुसी सैनिकसँग काँधमा काँध मिलाएर लडेको र रुसी भूमिलाई मुक्त गरेको दाबी गरे। युक्रेन युद्धमा मारिएकाहरूको सम्मानमा प्योङयाङमा आयोजित स्मारक कम्प्लेक्स उद्घाटन समारोहमा रुसी अधिकारीहरू सहभागी भएका थिए।








