केप क्यानाभेरलमा ब्लू ओरिजिनको ‘न्यू ग्लेन’ रकेट परीक्षणका क्रममा विस्फोट

केप क्यानाभेरल । अमेरिकी अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनको महत्त्वाकांक्षी ‘न्यू ग्लेन’ रकेट फ्लोरिडास्थित केप क्यानाभेरलको लन्च प्याडमा बिहीबार परीक्षणका क्रममा विस्फोट भएको छ। अर्बपति जेफ बेजोसको स्वामित्वमा रहेको कम्पनीले ‘हटफायर’ परीक्षणका क्रममा अप्रत्याशित समस्या उत्पन्न भएको जनाए पनि घटनामा कुनै मानवीय क्षति भने भएको छैन। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा करिब ९८ मिटर अग्लो रकेटको तल्लो भागबाट सुरुमा बाक्लो धुवाँ निस्किएको र केही क्षणमै त्यो विशाल आगोको मुस्लोमा परिणत भएको देखिएको छ। दुर्घटनापछि एक्समार्फत संक्षिप्त वक्तव्य जारी गर्दै ब्लू ओरिजिनले सबै कर्मचारी सुरक्षित रहेको दाबी गरेको छ भने कम्पनीका संस्थापक जेफ बेजोसले घटनाको कारण तत्काल पहिचान गर्न समय लाग्ने उल्लेख गर्दै आवश्यक संरचना पुनर्निर्माण गरी कम्पनी पुनः उडानमा फर्किने प्रतिबद्धता जनाएका छन्।

ब्लू ओरिजिनको दीर्घकालीन अन्तरिक्ष रणनीतिको केन्द्रमा रहेको न्यू ग्लेन परियोजनाका लागि यो दुर्घटनालाई ठूलो धक्काका रूपमा हेरिएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) र ब्लू ओरिजिन हाल आर्टेमिस चन्द्र अभियानका लागि चन्द्र ल्यान्डर विकासमा सहकार्य गरिरहेकाले यस घटनालाई चासोका साथ हेरिएको छ। घटनाप्रति दुःख व्यक्त गर्दै प्रतिस्पर्धी कम्पनी स्पेसएक्सका संस्थापक एलन मस्कले यसलाई दुर्भाग्यपूर्ण भनेका छन्। त्यस्तै, फ्लोरिडाका सांसद माइक ह्यारिडोपोलोसले आफू नासाका प्रशासक जारेड आइज्याकम्यानसँग निरन्तर सम्पर्कमा रहेको र राहत कार्यमा टोलीहरू सक्रिय भएको जानकारी दिएका छन्। आइज्याकम्यानले अन्तरिक्ष उडान अत्यन्त कठिन र त्रुटिप्रति असहिष्णु क्षेत्र भएको टिप्पणी गर्दै साझेदार संस्थाहरूसँग मिलेर घटनाको विस्तृत अनुसन्धान र निकट भविष्यका मिसनमाथिको प्रभाव मूल्याङ्कन गरिने स्पष्ट पारेका छन्।

यो कम्पनीका लागि पछिल्लो समय थपिएको अर्को प्राविधिक चुनौती हो। गत महिना मात्र न्यू ग्लेन रकेटले एएसटी स्पेसमोबाइलको सञ्चार उपग्रहलाई निर्धारित कक्षामा पुर्‍याउने चालकविहीन अभियान पूरा गर्न सकेको थिएन। त्यसपछि अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) को निर्देशनमा भएको अनुसन्धान यसै महिनाको सुरुमा सकिएको थियो, जसले मे २२ मा अत्यधिक तापीय अवस्थाका कारण रकेटको एउटा इन्जिनले अपेक्षित शक्ति उत्पादन गर्न नसक्दा लक्ष्यित कक्षा गुमेको प्रतिवेदन सार्वजनिक गरेको थियो। सो प्राविधिक असफलताको अनुसन्धान सकिएको केही समयमै लन्च प्याडमा भएको यो विस्फोटले ब्लू ओरिजिनको आगामी अन्तरिक्ष कार्यतालिकालाई थप अनिश्चित र चुनौतीपूर्ण बनाएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x