वासिङ्टन डीसी । रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलघाँटी हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकायमाथि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गरेको छ। अमेरिकी अर्थ मन्त्रालयले बुधबार इरानको ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ विरुद्ध प्रतिबन्ध लगाएको हो। तेहरानमाथिको आर्थिक दबाब अझ कडा बनाउने रणनीतिअन्तर्गत वासिङ्टनले यो कदम चालेको बुझिएको छ।
अमेरिकी दाबीअनुसार उक्त इरानी निकायले हर्मुज जलघाँटी प्रयोग गर्ने व्यावसायिक जहाजहरूबाट शुल्क असुल्ने संयन्त्र सञ्चालन गरिरहेको छ। विश्व ऊर्जा आपूर्तिको प्रमुख पारगमन मार्ग मानिने यस जलक्षेत्रमा इरानको आर्थिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले नयाँ प्रतिबन्ध लगाइएको अमेरिकी पक्षले प्रस्ट पारेको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले एक विज्ञप्ति जारी गर्दै इरानी सेनाले विश्वव्यापी समुद्री व्यापारबाट आर्थिक लाभ उठाउन खोज्नुले तेहरान चरम नगद अभावको दबाबमा परेको सङ्केत गर्ने बताए। इरानी नेतृत्वले आफ्ना गतिविधि सञ्चालन गर्न नयाँ राजस्व स्रोत खोजिरहेको बेसेन्टको दाबी छ।
विज्ञप्तिमा हर्मुज जलघाँटी पार गर्दा इरानलाई शुल्क तिर्ने व्यक्ति वा संस्थाहरू समेत अमेरिकी प्रतिबन्धको दायरामा पर्न सक्ने चेतावनी दिइएको छ। अमेरिकी अर्थ मन्त्रालयले त्यस्ता भुक्तानीहरूलाई इरानको ‘रिभोलुसनरी गार्ड्स’ (IRGC) लाई सहयोग वा सेवा उपलब्ध गराएको रूपमा व्याख्या गर्न सकिने उल्लेख गरेको छ। अमेरिकाले इरानी शासनलाई हतियार कार्यक्रम, क्षेत्रीय सशस्त्र सहयोगी समूह तथा आणविक महत्त्वाकांक्षाका लागि आवश्यक आर्थिक स्रोतबाट वञ्चित गर्न काम गरिरहेको र तेहरानलाई दशौँ अर्ब डलर बराबरको सम्भावित राजस्व पहुँचबाट रोक्न सफलता मिलेको दाबी समेत गरेको छ।
यसअघि, पर्सियन गल्फ स्ट्रेट अथोरिटीले मई २० मा सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत आफ्नो ‘नियामक क्षेत्राधिकार’ दाबी गरिएको एक नक्सा सार्वजनिक गरेको थियो। उक्त नक्सामा हर्मुज जलघाँटीको दुवै किनारतर्फ रातो रेखा कोरेर सो मार्ग प्रयोगका लागि इरानी अनुमति आवश्यक पर्ने क्षेत्रहरू देखाइएको थियो।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि सुरु भएको क्षेत्रीय युद्ध र कूटनीतिक तनावबीच यो नयाँ विवाद सतहमा आएको हो। अप्रिल ८ यता दुवै पक्षका सेनाले युद्धविरामको पालना गरिरहेको र राजनीतिक समाधानका लागि कूटनीतिक प्रयास जारी रहेका बेला इरानले हर्मुज जलमार्गमा नियन्त्रण कडा पारेको अमेरिकी आरोप छ। हालैका दिनहरूमा अमेरिकाले इरानी लक्ष्यहरूमा सैन्य आक्रमणसमेत सुरु गरेको छ।
अर्कोतर्फ, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सोमबार तेहरानले रणनीतिक हर्मुज मार्गको ट्राफिक व्यवस्थापन जारी राख्ने प्रस्ट पारेका छन्। विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास ओसारपसार हुने यस जलमार्गमा इरानले कुनै ‘टोल’ (कर) नभई ‘नेभिगेसनल सेवा’ उपलब्ध गराएबापत मात्र शुल्क लिइरहेको बाकाईको तर्क छ।








