किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको प्रकोप समुदायस्तरमा अनियन्त्रित रूपमा फैलिइरहेको छ। जनस्वास्थ्य अधिकारीका अनुसार हालसम्म सङ्क्रमितको सङ्ख्या १ हजार ५२८ पुगेको छ भने ४९२ जनाको मृत्यु भइसकेको छ।
सार्वजनिक प्रतिवेदनअनुसार हालसम्म २३९ जना उपचारपछि निको भएका छन्। ६२८ जना बिरामी आइसोलेसन केन्द्र र अस्पतालमा उपचाररत छन्। यसबाहेक १८५ जनामा इबोलाको शङ्का गरिएको छ। सङ्क्रमणको दर पछिल्ला साताहरूमा उच्च विन्दुमा पुगेको छ। महामारीको तथ्याङ्कले २५ औँ र २६ औँ सातामा मात्र ३०० भन्दा बढी नयाँ सङ्क्रमण पुष्टि भएको देखाउँछ, जसले भाइरस अझै सक्रिय रूपमा फैलिरहेको पुष्टि गर्दछ।
स्वास्थ्य अधिकारीहरूले महामारी नियन्त्रणमा गम्भीर चुनौतीहरू सामना गरिरहेका छन्। प्रतिवेदनमा उल्लेख भएअनुसार, मृत्युपश्चात् नमूना सङ्कलनमा समुदायको असहयोग र उत्तर किभुमा रहेका उपचार केन्द्रहरूको सीमित क्षमता मुख्य अवरोध बनेका छन्। साथै, सङ्क्रमितको सम्पर्कमा आएकाहरूको खोजीमा ढिलाइ, प्रयोगशाला परीक्षणमा सुस्तता, औषधि तथा सुरक्षा सामग्रीको अभाव र केही प्रभावित क्षेत्रमा पुग्न नसकिने अवस्थाले प्रकोप नियन्त्रणलाई कठिन बनाएको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म बुन्डिबुग्यो भाइरसका लागि कुनै पनि खोप वा प्रमाणित उपचार पद्धति उपलब्ध छैन। यद्यपि, भाइरसको प्रभावकारी उपचार खोज्नका लागि कङ्गोमा क्लिनिकल परीक्षण सुरु गरिएको छ।








