इस्तानबुल (एजेन्सी)। सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकपमा इरानी फुटबल टोली (टिम मेली) को सहभागिता सुनिश्चित गर्ने विषयमा विश्व फुटबलको सर्वोच्च निकाय फिफा र इरानी फुटबल महासङ्घबीच सकारात्मक छलफल भएको छ । टर्कीको इस्तानबुलमा शनिबार भएको बैठकमा इरानी टोलीको सहज यात्रा र व्यवस्थापनका विषयमा ‘रचनात्मक’ र ‘राम्रो’ कुराकानी भएको फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले बताएका छन् ।
मध्यपूर्वमा जारी युद्ध र राजनीतिक तनावका बीच इरानले समूह चरणका आफ्ना तीनवटै खेल अमेरिकामै खेल्ने तालिका सार्वजनिक भइसकेको छ । यसअघि इरानी फुटबल महासङ्घका अध्यक्ष मेहदी ताजले गत बिहीबार इरानी टोलीका लागि भिसा जारी नगरिएको भन्दै चासो व्यक्त गरेका थिए । तर, टर्की फुटबल फेडरेशनको मुख्यालयमा भएको पछिल्लो बैठकपछि दुवै पक्ष आगामी रणनीतिबारे सन्तुष्ट देखिएका छन् ।
बैठकपछि फिफा महासचिव ग्राफस्ट्रोमले भने, “हामीले इरान एफएसँग रचनात्मक वार्ता गरेका छौँ, वार्ता सफल भएको छ । मलाई लाग्छ हामी उनीहरूलाई विश्वकपमा स्वागत गर्न धेरै उत्सुक छौँ । यसका लागि सँगै मिलेर काम गरिरहेका छौँ ।” उनले अन्य सदस्य सङ्घहरू जस्तै इरानी टोलीको परिचालन र व्यवस्थापनबारे छलफल गर्ने अवसर मिलेको भन्दै दुवै पक्ष सकारात्मक कुराहरूको आदानप्रदान गर्न सक्षम भएको दाबी गरे ।
यस्तै, इरानी फुटबल महासङ्घका अध्यक्ष ताजले पनि बैठकको विस्तृत विवरण नखुलाई यसलाई ‘सकारात्मक र रचनात्मक’ संज्ञा दिएका छन् । “हामीले हाम्रो चिन्ताको बारेमा छलफल गर्यौं र टीम मेलीको सहज सहभागिता सुनिश्चित गर्न हाम्रो संयुक्त प्रतिबद्धता व्यक्त गर्यौं,” ताजले भने ।
यो बैठक सम्पन्न भएसँगै इरानी टोली सोमबार बिहान टर्कीको प्रशिक्षण शिविरतर्फ जाने तयारीमा छ । इरानले अन्टालियामा दुईवटा मैत्रीपूर्ण खेल खेल्ने तालिका तय गरिसकेको छ, जसमध्ये मे २९ मा गाम्बियाविरुद्ध पहिलो खेल हुने खेल व्यवस्थापन गर्ने कम्पनीका प्रतिनिधि साम मेहदीजादेहले पुष्टि गरेका छन् ।
लगातार चौथो पटक विश्वकपको फाइनल चरणमा पुगेको इरान प्रतियोगिता अवधिभर अमेरिकाको एरिजोनास्थित टक्सनमा रहनेछ । समूह ‘जी’ मा रहेको इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्याण्डविरुद्ध खेल्दै आफ्नो विश्वकप अभियानको सुरुवात गर्नेछ । त्यसपछि इरानले लस एन्जलसमै बेल्जियम र सिएटलमा इजिप्टको सामना गर्ने खेल तालिका छ ।








