देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले वर्तमान राजनीतिक परिस्थितिमा दलभित्रको आन्तरिक विवादभन्दा राष्ट्रिय मुद्दा प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेसद्वारा आयोजित एक कार्यक्रममा आइतबार काठमाडौँमा बोल्दै उनले पार्टी नेतृत्वको जिम्मेवारी सम्हाल्ने व्यक्तिको मुख्य दायित्व देश र लोकतन्त्रसँग जोडिएका विषयमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे।

उनले आफूलाई बिपी कोइरालाको राजनीतिक विरासतसँग जोडिएको जिम्मेवारीमा रहेको उल्लेख गर्दै काँग्रेस नेतृत्वले राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक मूल्य र नागरिकको अपेक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताए।

थापाले काँग्रेसको इतिहास लोकतन्त्र, नागरिक स्वतन्त्रता, आत्मसम्मान र सहभागितामूलक शासन व्यवस्थाका लागि भएको संघर्षसँग जोडिएको उल्लेख गरे। उनले विगतका राजनीतिक आन्दोलनमा धेरै व्यक्तिको योगदान, त्याग र संघर्ष रहेको भन्दै त्यसको उद्देश्य नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु रहेको बताए।

उनका अनुसार अहिले देशका मूलभूत सवालमा पार्टीलाई स्पष्ट रूपमा उभ्याउन काँग्रेसभित्र व्यापक छलफल आवश्यक छ। साथै पार्टीका समर्थक र शुभेच्छुकबीच संवाद विस्तार गरेर उनीहरूको विश्वास पुनः स्थापित गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए।

विशेष महाधिवेशनको प्रस्तावबारे बोल्दै थापाले काँग्रेसलाई केवल संगठनात्मक संरचनाभित्र सीमित दलका रूपमा बुझ्न नहुने धारणा राखे। उनले पार्टीसँग भावनात्मक रूपमा जोडिएका समर्थक र शुभेच्छुकको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए।

थापाले पछिल्लो निर्वाचनमा काँग्रेसले ठुलो संख्यामा शुभेच्छुक र समर्थकको विश्वास गुमाएको उल्लेख गर्दै उनीहरूमाझ पुनः पुगेर भरोसा दिलाउने आवश्यकता रहेको बताए। पार्टीप्रति नागरिकको आकर्षण बढाउन काँग्रेसले आफ्नो मूल राजनीतिक मूल्य र उद्देश्य पुनः स्थापित गर्नुपर्ने उनको भनाइ थियो।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x