तेहरान। इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नयाँ सर्वोच्च नेता मोजतबा खामेनीसँग भेटवार्ता भएको बिहीबार सार्वजनिक गरे , तर भेट कहिले भयो भन्ने विवरण दिएनन्।
सरकारी टेलिभिजनमा प्रसारित भिडियोमा पेजेश्कियानले भने, “इरानका सर्वोच्च नेताको दूरदर्शिता, नम्र र इमानदार दृष्टिकोणले मलाई यो बैठकमा सबैभन्दा बढी प्रभावित बनायो।”मोजतबा खामेनी मार्च ९ मा सर्वोच्च नेता घोषित भएयता अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन्। ८८ सदस्यीय विशेषज्ञ सभाले उनलाई यो पदमा नियुक्त गरेको थियो। नियुक्तिपछि उनले लिखित वक्तव्य मात्र जारी गरेका छन्।
उनका पिता तथा पूर्व सर्वोच्च नेता अली खामेनीको मृत्यु फेब्रुअरी २८ मा अमेरिकी आक्रमणमा भएको थियो। ८६ वर्षीय अली खामेनीले सन् १९८९ देखि इस्लामिक गणतन्त्रको नेतृत्व गर्दै आएका थिए , गणतन्त्रका संस्थापक अयातोल्लाह रुहोल्लाह खोमेनीको उत्तराधिकारीका रूपमा।
मध्यपूर्व युद्धको पहिलो दिन अमेरिका–इजरायलको संयुक्त आक्रमणमा घाइते भएका मोजतबा अहिले देशका सडकहरूमा सर्वव्यापी छन् , तस्वीरमा मात्र। आफ्ना पिताको बारम्बार सार्वजनिक उपस्थितिको परम्पराको यो ठीक विपरीत छ।
विश्लेषकहरूका अनुसार युद्धकालीन सुरक्षा जोखिमका कारण मोजतबा भूमिगत रहेर नेतृत्वको भूमिका निर्वाह गर्दैछन्।








