रुसी ड्रोन रोमानियाको आवासीय भवनमा खस्यो, नेटोसँग ड्रोन प्रतिरोधी प्रणाली माग

काठमाडौँ  ।  युक्रेनमाथि गरिएको रातभरको हवाई आक्रमणका क्रममा एक रुसी ड्रोन पूर्वी रोमानियाको आवासीय भवनमा खसेको छ । रोमानियाली अधिकारीहरूका अनुसार शुक्रबार भएको उक्त घटनामा दुई जना सर्वसाधारण घाइते भएका छन् ।

नेटो (NATO) सदस्य राष्ट्र रोमानियाले यस घटनालाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भन्दै गठबन्धनसँग ड्रोन प्रतिरोधी प्रणाली द्रुत गतिमा उपलब्ध गराउन माग गरेको त्यहाँको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रोमानियाको रक्षा मन्त्रालयका अनुसार हवाई क्षेत्रमा उक्त ड्रोनलाई राडारमार्फत पछ्याइएको थियो, तर पछि त्यो ड्यान्युब नदी किनारमा अवस्थित गालाती सहरको एक भवनको छतमा बजारिन पुग्यो । ड्रोन खसेलगत्तै आगलागी भएको र त्यहाँबाट केही मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । घटनापछि रोमानियाली सेनाले दुईवटा एफ-१६ (F-16) लडाकु विमान र एउtx हेलिकप्टर परिचालन गर्नुका साथै स्थानीय बासिन्दाहरूलाई सचेत गराउन चेतावनी सन्देशहरू जारी गरेको थियो ।

युक्रेनको विद्युत प्रसारण लाइन तथा सहरी क्षेत्रहरूलाई लक्षित गरी रुसले पछिल्लो समय लामो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रहार तीव्र पारेको छ ।

यसैबीच, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले रुसको यस कदमले अर्को सीमा पार गरेको टिप्पणी गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “रुसी ड्रोनको घुसपैठले युरोपेली युनियनको क्षेत्रभित्र पर्ने रोमानियाको बाक्लो बस्ती भएको क्षेत्रमा प्रहार गरी नागरिकलाई घाइते बनाएको छ ।” उनले ईयूले आफ्नो पूर्वी सिमानाको सुरक्षा थप सुदृढ गर्ने र रुसविरुद्ध २१औँ चरणको प्रतिबन्धको मस्यौदा तयार पारिरहेको समेत जानकारी दिइन् ।

अर्कोतर्फ, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी आक्रमणको सामना गर्न अमेरिका समर्थित ‘पेट्रियट’ वायु रक्षा प्रणाली उपलब्ध गराउन दबाब दिइरहेका छन् । इरानसँगको सैन्य तनावका कारण अमेरिकी भण्डार घट्दै जाँदा युक्रेनमा आपूर्ति कम भएको उनले चेतावनी दिएका छन् । स्वीडेन भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले अमेरिकाले तीव्र रूपमा कदम चाल्नुपर्ने धारणा राखे ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले पनि सुरक्षा परिषद्लाई सम्बोधन गर्दै बढ्दो सैन्य टकराव नियन्त्रण बाहिर जान सक्ने र यसको गम्भीर परिणाम आउने भन्दै सचेत गराएका छन् । यस वर्षको सुरुवाती चार महिनामा अघिल्ला तीन वर्षको सोही अवधिको तुलनामा धेरै नागरिकले ज्यान गुमाएको उल्लेख गर्दै गुटेर्रेसले तत्काल कूटनीतिक संवाद र पूर्ण युद्धविरामका लागि आह्वान गरेका छन् ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x