काठमाडौँ, १२ चैत — नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संघीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजित एक समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराएका हुन्।
ज्येष्ठ सदस्य केसीले स्वयं बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका थिए। नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम उक्त शपथको व्यवस्था गरिएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, जनता समाजवादी पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट प्राप्त गरेका छन्।








