मुस्ताङको घरपझोङ गाउँपालिका–४ लामाकुर्सीस्थित एक गुम्बामा सोमबार बिहान एक भारतीय नागरिक मृत फेला परेका छन्। जोमसोम–कागबेनी सडकखण्ड नजिकै पर्ने लामाकुर्सी गुम्बाको बत्ती बाल्ने कोठामा भारतको उत्तर प्रदेश, प्रतापगढ निवासी ६३ वर्षीय सङ्गमलाल यादवको शव बिहान १०:१५ बजे भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
घटनास्थलमा फेला परेको आधार कार्डका अनुसार गत चैत १८ गते पदयात्राका लागि यस क्षेत्रमा आएका यादवको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिएका छन्। सूचना प्राप्त हुनासाथ घटनास्थल पुगेको नौ जनाको प्रहरी टोलीले मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि जोमसोमस्थित प्रादेशिक अस्पतालमा राखेको छ भने मृतकका परिवारसँग सम्पर्कका लागि आवश्यक समन्वय भइरहेको छ।








