अमेरिका र इरानबीचको शान्ति वार्तालाई लक्षित गरी पाकिस्तानको राजधानी इस्लामावादमा आइतबारदेखि सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि आफ्ना प्रतिनिधिहरू सोमबार साँझसम्म इस्लामावाद पुग्ने जानकारी सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत दिएका छन्। उच्चस्तरीय कुटनीतिक टोलीको आगमनलाई ध्यानमा राख्दै पाकिस्तानी अधिकारीहरूले इस्लामावाद र छिमेकी शहर रावलपिण्डीका मुख्य सडकहरूमा सवारी प्रतिबन्ध लगाउनुका साथै सुरक्षा चेकप्वाइन्टहरू थपेका छन्।
विशेषगरी पहिलो चरणको वार्ता भएको सेरेना होटल वरपरको क्षेत्रलाई काँडेतार र ब्यारिकेड लगाएर सिल गरिएको छ भने सशस्त्र सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ। स्थानीय प्रशासनले सुरक्षा सावधानीका कारण ट्राफिक डाइभर्सन गरिएको भन्दै सर्वसाधारणलाई सुरक्षा निकायसँग सहयोग गर्न आग्रह गरेको छ। मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानले यस वार्तालाई सफल बनाउन सुरक्षा र व्यवस्थापनमा उच्च प्राथमिकता दिएको देखिन्छ।








