रुसद्वारा इबोलाको नयाँ ‘बुन्डिबुग्यो’ स्ट्रेनविरुद्धको खोप विकास गरेको दाबी

मस्को/कङ्गो । अफ्रिकी मुलुकहरूमा इबोला भाइरसको सङ्क्रमण तीब्र रूपमा फैलिरहेका बेला रुसले यसको नयाँ स्ट्रेनविरुद्ध प्रभावकारी हुने खोप विकास गरेको दाबी गरेको छ । दक्षिण अफ्रिकास्थित रुसी दूतावासका अनुसार रुसी वैज्ञानिकहरूले तयार पारेको उक्त खोपले हाल प्रकोपका रूपमा देखिएको दुर्लभ ‘बुन्डिबुग्यो’ स्ट्रेनविरुद्ध समेत सुरक्षा दिने सम्भावना छ ।

रुसी स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोको भनाइ उद्धृत गर्दै दूतावासले वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूपविरुद्ध खोप विकास गरेको जानकारी दिएको हो । विशेषगरी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) र युगान्डा क्षेत्रमा देखिएको प्रकोपसँग सम्बन्धित बुन्डिबुग्यो स्ट्रेनविरुद्ध पनि यो खोप उपयोगी हुन सक्ने दाबी गरिएको छ।

मध्य अफ्रिकामा फैलिरहेको इबोला प्रकोपलाई लिएर अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूले चिन्ता व्यक्त गरेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अन्तर्राष्ट्रिय स्वास्थ्य विनियम (आइएचआर) २००५ अन्तर्गत गत मे १७ मा कङ्गो र युगान्डामा देखिएको इबोला प्रकोपलाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’ (पीएचइआइसी) का रूपमा वर्गीकरण गरेको थियो ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले पनि कङ्गो र युगान्डामा फैलिरहेको बुन्डिबुग्यो स्ट्रेनसँग सम्बन्धित इबोला भाइरस रोगको प्रकोपलाई औपचारिक रूपमा पुष्टि गरेको छ ।

डब्लुएचओको आइएचआर आपतकालीन समितिले मे २२ मा अस्थायी सिफारिसहरू सार्वजनिक गर्दै थप सतर्कता अपनाउन आग्रह गरेको छ । समितिले बुन्डिबुग्यो भाइरस पुष्टि भएका क्षेत्रबाट आएका अस्पष्ट ज्वरोका बिरामी यात्रुहरूको पहिचान, मूल्याङ्कन, प्रतिवेदन र व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय प्रवेश नाकाहरूमा रोग निगरानी प्रणाली थप बलियो बनाउन निर्देशन दिएको छ । साथै, भाइरस प्रभावित क्षेत्रमा अनावश्यक यात्रा नगर्न समेत सिफारिस गरिएको छ ।

हाल कङ्गो र युगान्डासँग सीमा जोडिएका देशहरू, विशेषगरी दक्षिण सुडानलगायतका क्षेत्रमा यो रोग फैलने जोखिम उच्च रहेको आकलन गरिएको छ । इबोला अत्यन्त गम्भीर प्रकृतिको भाइरल रक्तस्रावी ज्वरो हो, जुन इबोला भाइरसको बुन्डिबुग्यो स्ट्रेनको सङ्क्रमणबाट उत्पन्न हुन्छ । उच्च मृत्युदर रहने यो रोगको रोकथाम वा उपचारका लागि हालसम्म कुनै पनि खोप वा विशेष औषधिलाई औपचारिक स्वीकृति प्राप्त भएको छैन । यसै सन्दर्भमा रुसले गरेको नयाँ खोप विकासको दाबीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य समुदायले चासोका साथ हेरिरहेको छ ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x