अन्नबाली सखाप पार्दा टिमुरले जगायो पाल्पाका किसानको आशा

पाल्पा । पाल्पाका किसान अन्नबालीमा बढ्दो वन्यजन्तुको आतङ्कपछि विकल्पका रूपमा टिमुरखेतीतर्फ आकर्षित भएका छन् ।

खेतबारीमा लगाइएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बँदेलले सखाप पार्न थालेपछि पाल्पाका किसानले विकल्पका रूपमा टिमुरखेती गर्न थालेका हुन्। टिमुरखेती गर्दा क्षति नहुने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा लागेको तिनाउ गाउँपालिका, कचलका मीनबहादुर सारुले बताए। “यहाँ सबैजसो बारी र बाँझो जमिनमा टिमुर छ, वनसँग जोडिएका ठाउँमा अरू बाली लगाएर जोगाउनै सकिँदैन, त्यसको विकल्प टिमुरखेती बनेको छ,” उनले भने।

रिब्दीकोट गाउँपालिका–ढुस्टुङका तारा बगालेले पनि व्यावसायिक रूपमा टिमुरखेती गरेका छन्। पहिले मकैखेती गर्दै आएका उनले अहिले बारीमा ५० बोट टिमुरका बिरुवा लगाएका छन्। “हरेक वर्ष बारीमा मकै लगायो बाँदर र बँदेलले खाएर सखाप पारिदिन्छन्। मेहनत गरेर लगाएको बाली स्याहार्ने बेलामा वन्यजन्तुले खाइदिएपछि विकल्पको रूपमा टिमुर लगाइदिएको हुँ,” बगालेले भने।

निस्दी गाउँपालिका–ज्यामिरेका कर्णबहादुर सोतीले पनि डिभिजन वन कार्यालयबाट गत वर्ष २० वटा बिरुवा लिएर टिमुरखेती थालेका छन्। रैनादेवी छहराका ध्रुवबहादुर रानाका अनुसार पहिला बारीका काल्नामा टिमुर लगाउँदा सबैले हाँस्थे, तर आम्दानीको बलियो माध्यम बनेपछि अहिले बारी ढाक्ने गरी टिमुर लगाइएको छ। “वन्यजन्तुको आतङ्कले अन्नबाली लगाउन सकेनौँ, अहिले टिमुरखेती गरेका छौँ। यसले जिल्लाका दुई हजार बढी किसानलाई फाइदा पुर्‍याएको छ,” राना भन्छन्। असारको अन्तिम सातादेखि असोज–कात्तिकसम्म टिमुर बिक्री गरेर किसानले वार्षिक एक देखि तीन लाखसम्म आम्दानी गर्ने गरेका छन्।

डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिलबहादुर तामाङका अनुसार पाल्पाको भौगोलिक बनोट र हावापानी टिमुरखेतीका लागि उपयुक्त छ। नेपाल सरकारले टिमुरलाई प्रमुख जडीबुटी बालीमध्ये एक मानेको छ र खेती प्रविधि अनुसन्धानका लागि प्राथमिकतामा राखेपछि किसानको आकर्षण बढेको तामाङले बताए। कार्यालयले विगत तीन वर्षदेखि टिमुरलाई व्यावसायिक खेतीका रूपमा विकास गर्न पहल गर्दै आएको छ र स्थानीय उत्पादन नपुगेपछि पश्चिम नेपालका अन्य जिल्लाबाट बिरुवा ल्याई किसानलाई वितरण गरिँदै आएको छ। पहिलो वर्ष १० हजार र त्यसपछि माग अनुसार २० हजार बिरुवा वितरण गरिएको तामाङले जनाए।

डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठका अनुसार पाल्पाको अधिकांश भू-भागमा, अग्लो र ओसिलो स्थानमा समेत टिमुरखेतीको सम्भावना छ। “अन्य खेतीमा बाँदरको आक्रमण हुन्छ तर टिमुरखेतीबाट किसानलाई सुरक्षित र दीर्घकालीन फाइदा हुन्छ,” श्रेष्ठले भने। एकपटक बोट हुर्काएपछि वर्षौंसम्म आम्दानी लिन सकिने भएकाले वन्यजन्तुको समस्या भएका क्षेत्रमा टिमुर वैकल्पिक खेतीका रूपमा स्थापित हुँदै गएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x