सन्तुलित परराष्ट्र सम्बन्ध र राष्ट्रिय हितमा सरकारको जोडः परराष्ट्रमन्त्री शिशिर खनाल

नेपालको परराष्ट्र नीति असंलग्नता, सार्वभौमिकता र पारस्परिक सम्मानमा आधारित हुने परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन् । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले शुक्रबार काठमाडौँमा आयोजना गरेको संयुक्त कार्यक्रममा बोल्दै उनले सबै राष्ट्रसँग मैत्रीपूर्ण र सन्तुलित सम्बन्ध कायम गर्ने सरकारी नीति रहेको प्रष्ट पारे ।

मन्त्री खनालले मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन सरकार क्रियाशील रहेको दाबी गरे । कार्यक्रममा उनले भने, “हामी सबै मित्रराष्ट्रहरूसँग शान्तिपूर्ण र सन्तुलित सम्बन्ध चाहन्छौँ, असंलग्नता र पारस्परिक सम्मान नै हाम्रो परराष्ट्र नीतिको मूल आधार हो ।“

कार्यक्रममा सुरक्षा र स्थानीय विकासका मुद्दासमेत उठाइएका थिए । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख ईश्वर कार्कीले अपराधमुक्त समाज निर्माणका लागि प्रहरी र समुदायबीचको सहकार्यलाई अनिवार्य सर्तका रूपमा व्याख्या गरे । प्रहरीले नागरिकसँगको साझेदारीमा अपराध नियन्त्रण र जनचेतना अभिवृद्धिका कार्यलाई प्राथमिकता दिएको उनले जानकारी दिए ।

त्यस्तै, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले स्थानीय तहका समस्याका विषयमा सरकारको ध्यान आकृष्ट गराए । नगरभित्रको खानेपानी समस्या समाधानका लागि संघीय सरकारको सहयोग माग गर्दै उनले ठूला पूर्वाधार निर्माणमा स्थानीय स्रोत र साधनले मात्र सम्भव नहुने तर्क गरे ।

सोही अवसरमा राजनीतिक नेतृ कल्पना शर्माले जनअपेक्षा अनुसारका काम गर्न सरकारलाई सुझाव दिइन् । जनताका इच्छा र आधारभूत आवश्यकता पूरा गर्ने दिशामा सरकारले ठोस कदम चाल्नुपर्ने उनको भनाइ थियो ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x