काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीबाट समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूको सूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ । सरकार गठनको प्रक्रिया भने अझै करिब १० दिन लाग्न सक्ने रास्वपाले जनाएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले केन्द्रीय कार्यालयमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै समानुपातिक उम्मेदवारहरूको नामावली टुंगो लगाएर आजै आयोगमा बुझाइने जानकारी दिए ।
समानुपातिक सांसदहरूको सूची टुंग्याउने तथा अन्य समसामयिक विषयमा छलफल गर्न पार्टीको बैठक पनि आज बस्ने तय भएको छ । बैठकअघि पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै झाले भने, ‘हाम्रो पहिलो प्राथमिकता समानुपातिक उम्मेदवारहरूको नामावली बुझाउने भएकाले आज हामी त्यो टुंग्याउँछौं ।’
सरकार गठनका विषयमा उनले अझै केही संवैधानिक र व्यवहारिक प्रक्रियाहरू बाँकी रहेकाले तत्काल सरकार बन्न नसक्ने बताए । संसद सचिवालयको तयारी, निर्वाचन आयोगले निर्वाचन प्रक्रियाको अन्तिम विवरण राष्ट्रपति कार्यालयमा बुझाउने प्रक्रिया तथा समानुपातिक उम्मेदवारहरूलाई प्रमाणपत्र वितरणजस्ता कामहरू बाँकी रहेको उनको भनाइ छ ।
झाले भने, ‘सबै प्रक्रिया हाम्रो मात्रै हातमा हुँदैन। संसद सचिवालय, निर्वाचन आयोग र अन्य निकायहरूको पनि आफ्नै जिम्मेवारी हुन्छ । त्यसैले ठ्याक्कै समय भन्न गाह्रो भए पनि अझै करिब १० दिन जति लाग्न सक्छ भन्ने हाम्रो अनुमान छ ।’








