तुआप्से (रुस)। रुसको दक्षिणी तटीय शहर तुआप्सेस्थित एक तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि लागेको भीषण आगो निभाउन सुरक्षा निकायले चौथो दिन पनि सङ्घर्ष गरिरहेका छन्। सोमबार भएको उक्त आक्रमणका कारण तेल भण्डारण गरिएका चारवटा विशाल ट्याङ्कीमा आगलागी भएको र त्यसबाट निस्किएको बाक्लो कालो धुवाँले आकाश ढाकेको स्थानीय अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन्।
क्षेत्रीय आपत्कालीन मुख्यालयका अनुसार आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। यस घटनाले त्यस क्षेत्रमा गम्भीर वायु प्रदूषण र वातावरणीय जोखिम निम्त्याएको छ। अधिकारीहरूले हावामा विषाक्त कणहरूको मात्रा सामान्यभन्दा दुईदेखि तीन गुणाले वृद्धि भएको बताएका छन्। बुधबार सोही धुवाँका कारण भएको ‘विषाक्त वर्षा’ ले तटीय बस्तीहरूमा कालो ध्वाँसो जम्मा गरेको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यहरूमा समुद्रको तटमा तेलको तह जमेको, मरेका माछा तथा चराचुरुङ्गीहरू किनारमा थुप्रिएको र जनावरहरूको शरीर कालो अवशेषले ढाकिएको देखिएको छ। सडकमा गुड्ने सवारी साधन र घरका झ्यालहरूमा समेत कालो दागहरू प्रस्ट देखिएका छन्।
बढ्दो प्रदूषणलाई मध्यनजर गर्दै शहर प्रशासनले स्थानीय बासिन्दाहरूलाई झ्यालढोका बन्द गर्न, अनावश्यक रूपमा बाहिर ननिस्कन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न चेतावनी जारी गरेको छ। पर्यटकीय गन्तव्यका रूपमा परिचित तुआप्से शहर पछिल्लो समय युक्रेनी सेनाको रणनीतिक निशानामा पर्दै आएको छ।
युक्रेनले रुसी सेनाको सैन्य खर्चको मुख्य स्रोत मानिने ऊर्जा निर्यात र राजस्वमा क्षति पुऱ्याउने उद्देश्यले हालैका हप्ताहरूमा रुसी तेल प्रशोधन केन्द्र तथा बन्दरगाहहरूमा आक्रमणलाई तीव्र बनाएको छ। रुसी रक्षा मन्त्रालयले यसबारे थप आधिकारिक टिप्पणी नगरे पनि स्थानीयस्तरमा राहत र उद्धार कार्य जारी रहेको जनाइएको छ।








