काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सोमबार बिहान ९ बजेसम्मको विवरण अनुसार विभिन्न नौवटा बैङ्कमा रु १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ सङ्कलन भएको छ।
यसैगरी कोषअन्तर्गतका अन्य दुई बैङ्कमा रहेका डलर खातामा दुई करोड ३७ लाख छ हजार ५७५ अमेरिकी डलर जम्मा भएको छ। सङ्कलित रकममध्ये राहत तथा पुनर्मार्माणका लागि निकासा प्रक्रिया पनि अघि बढाइएको छ। केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितहरूलाई सहयोग पुर्याउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा गरिसकिएको छ।








