न्यूयोर्क । जलवायु परिवर्तनका कारण निम्तिएका तातो लहर , आँधीबेहरी र डढेलोजस्ता चरम मौसमी प्रकोपका कारण विद्यालयहरू प्रभावित हुँदा छात्राहरू पढाइ छाड्न बाध्य हुने जोखिम उच्च रहेको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले जनाएको छ।
युनिसेफले सार्वजनिक गरेको विश्लेषण अनुसार गत वर्ष १०६ देश तथा क्षेत्रका १७ करोड १० लाखभन्दा बढी (प्रत्येक १० मध्ये एक) विद्यार्थीको पठनपाठन चरम मौसमी प्रतिकूलताका कारण अवरुद्ध भएको थियो।
भौतिक पूर्वाधारमा क्षति पुग्दा, कक्षाहरू रद्द हुँदा वा अनलाइन माध्यममा पठनपाठन स्थानान्तरण हुँदा त्यसको सबैभन्दा ठूलो मार छात्राहरूमाथि पर्ने गरेको राष्ट्रसङ्घीय एजेन्सीले स्पष्ट पारेको छ।
“जलवायुजन्य विपद्का कारण विद्यालयहरू बन्द हुँदा वा क्षति पुग्दा छात्राहरूले बिचैमा पढाइ छाड्ने जोखिम उच्च हुन्छ,” युनिसेफको प्रतिवेदनमा भनिएको छ, “विद्यालय र सरसफाइ सुविधाहरूको विनाश, विस्थापन र पारिवारिक आम्दानीमा आउने गिरावटले छात्राहरूमाथि घरधन्दा, हेरचाह र पानी ओसार्ने जस्ता थप जिम्मेवारीको बोझ थपिदिन्छ।”
यस्ता दबाबका कारण बालविवाहको जोखिम समेत बढ्ने र विद्यालयहरू पुनः सञ्चालनमा आउँदा पनि छात्राहरू कक्षाकोठामा फर्किने सम्भावना न्यून हुने युनिसेफले जनाएको छ। प्रतिवेदन अनुसार गत वर्ष शैक्षिक अवरोधको मुख्य कारण आँधीबेहरी बनेको थियो, जसका कारण विश्वभरका १० करोड ९० लाख विद्यार्थी प्रभावित भएका थिए। यस्तै बाढीका कारण कम्तीमा ७ करोड र तातो लहरका कारण करिब ५ करोड बालबालिकाको पठनपाठन प्रभावित भएको थियो।
अघिल्लो वर्षको तुलनामा यो तथ्याङ्क केही घटेको देखिएको छ। अघिल्लो अध्ययनमा युनिसेफले ८५ देशका करिब २५ करोड बालबालिका (प्रत्येक सातमा एक) जलवायुजन्य जोखिमबाट प्रभावित भएको जनाएको थियो। अध्ययन विधा मा परिवर्तन गर्दै सरकारी तथ्याङ्कको सट्टा सहायता एजेन्सीहरू र स्थानीय सञ्चारमाध्यमका विवरणलाई आधार बनाइएकाले सङ्ख्यामा भिन्नता आएको एजेन्सीले स्पष्ट पारेको छ।
युनिसेफका अनुसार विश्वका करिब १ अर्ब अर्थात् आधा बालबालिका जलवायु र वातावरणीय जोखिमको उच्च सङ्कटमा रहेका देशहरूमा बसोबास गर्छन्।
पठनपाठनमा हुने क्षतिले बालबालिकाको साक्षरता र गणितीय क्षमतामा असर पार्ने र यसले उनीहरूको जीवनभरको आम्दानीमा कम्तीमा २०० अर्ब अमेरिकी डलरको घाटा पुर्याउनुका साथै विश्वव्यापी असमानतालाई अझ बढाउने अनुमान गरिएको छ।
प्रभावित हुने अधिकांश बालबालिकाहरू न्यून र निम्न-मध्यम आम्दानी भएका देशका रहेका छन्, जहाँ जलवायुजन्य आपत्कालीन अवस्थामा सिकाइलाई निरन्तरता दिन आवश्यक स्रोत र पूर्वाधारको अभाव रहेको अध्ययनले औँल्याएको छ। युनिसेफले जलवायु र वातावरणीय जोखिम सहन सक्ने शैक्षिक पूर्वाधार निर्माणका लागि लगानी बढाउन विश्वका सरकार र साझेदार निकायहरूलाई आग्रह गरेको छ।








